काठमाडौं । सात वर्षभन्दा बढी राष्ट्रपति पदमा रहेर बाहिरिएकी विद्यादेवी भण्डारी पुनः पार्टी राजनीतिमा सक्रिय हुन चाहँदै आएकी थिइन् । तर पार्टीभित्र उनको सक्रियताले शक्ति सन्तुलनमा निर्णायक प्रभाव पार्न सक्ने देखिएपछि अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले उनको पुनरागमनलाई रोक्दै आएका थिए ।
पार्टीभित्रको शक्ति सन्तुलनमा फेरि परिवर्तन देखिन थालेपछि अध्यक्ष ओली पनि भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुने बाटो खोल्न तयार भएको देखिएको छ ।भण्डारीले एमालेको ११औँ महाधिवेशनअघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाएकी थिइन् । तर पार्टीको सदस्यता नरहेका कारण उनी सक्रिय राजनीतिमा फर्किन सकेकी थिइनन् । अब एमालेले गर्ने निर्णयले भण्डारीलाई पुनः पार्टी राजनीतिमा सक्रिय हुन सहज हुने देखिएको छ । भण्डारी यसअघि एमालेको उपाध्यक्षसमेत भइसकेकी नेता हुन् ।