काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
नेपालले पहिलो हाफमा श्रीलंकामाथि १९–१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि १५–१२ ले अघि रहँदै नेपालले ९ अंकको अन्तरमा खेल आफ्नो पक्षमा पारेको हो ।
यसअघि समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनलमा प्रवेश गरेका छन् ।सेमिफाइनल प्रवेश गरेसँगै महिला कबड्डीमा नेपालको पदक निश्चित भएको छ । अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार सेमिफाइनल खेल खेल्नेछ । १९औँ एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । यसपटक नेपालले सोही सफलतालाई निरन्तरता दिँदै थप माथिल्लो पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।