काठमाडौं । काठमाडौँ उपत्यकामा आगामी तीन दिन भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनार तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो मौसम पूर्वानुमानलाई आधार बनाउँदै प्रशासनले शुक्रबारदेखि तीन दिनसम्म उपत्यकाका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले बिहीबार जारी गरेको सूचनामार्फत सम्भावित विपद्बाट जोगिन पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन सबै नागरिकलाई अनुरोध गरिएको छ ।भारी वर्षाका कारण खोला, खोल्सी तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार तथा डुबानको जोखिममा रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
बाढीको जोखिम वा खतरा देखिएमा तत्काल सुरक्षित तथा उच्च स्थानमा जान, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित विपद्का बेला आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ । तत्काल उद्धार वा अन्य प्रकारको सहयोग आवश्यक परेमा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आग्रह गरेको छ ।
