नेपालमा किनमेल गर्न विशेष गरी किराना सामानदेखि सानो–सानो सामान, लत्ताकपडा, किचनको सामानदेखि ठूला–ठूला सामान जस्तै इलेक्ट्रोनिक्स फर्निचर किन्न र विशेष गरी घरायसी सामान किन्नको लागि किराना स्टोर र सुपर स्टोर भन्नासाथ भाटभटेनीलाई नसम्झने सायदै कोही नेपाली होलान् सहरी जनजीवनमा । विशेषगरी प्रमुख सहरी क्षेत्रमा त भाटभटेनी सुपर स्टोर एउटा ग्राहकको पहिलो रोजाइ बन्न पुगेको छ ।
नेपालको पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ सिम्लेमा विसं. २०१४ सालमा पिता वृषबहादुर गुरुङ र माता धनमाया गुरुङको कोखबाट एक सामान्य किसान परिवारमा जन्मिएका मिनबहादुर गुरुङले जीवनमा अनेकौँ संघर्ष र उतारचढाव पार गर्दै आफ्नो यात्रा अगाडि बढाए । विभिन्न स्थानमा रहेर अध्ययन तथा अनुभव हासिल गर्दै काठमाडौं आइपुगेपछि उनले सुरुमा नेपाल बैंकमा जागिरे जीवन प्रारम्भ गरे । जागिरे जीवनसँगै उनकी श्रीमतीले काठमाडौंमा सुरु गरेको सानो किराना पसलमा उनले पनि हातेमालो गर्न थाले । त्यही सानो पसलबाट उनले व्यवसायको सम्भावना देखे र विस्तारै आफ्नो भविष्य व्यवसायमै खोज्न थाले । अन्ततः विसं. २०४१ साल जेठ ४ गते करिब ३५ हजार रुपैयाँको लगानीमा १०/१२ फिटको एउटा सानो सटरबाट सुरु भएको त्यही व्यवसाय आज नेपालकै परिचित भाटभटेनी सुपर स्टोरको विशाल व्यावसायिक सञ्जालमा परिणत भएको छ ।
भाटभटेनी सुपर स्टोर भन्नासाथ मिनबहादुर गुरुङलाई नसम्झने पनि सायदै कोही होलान् । मेरो विचारमा उनी एक व्यवसायी मात्र नभई एक आँटिला, जोसिला, कहिल्यै हार नमान्ने व्यक्तित्व तथा प्रेरणाका स्रोत हुन् । जसले जिन्दगीमा अटूट मेहनतका साथ लगनशीलताले काम गरी, हारेर पनि जीत हासिल गरेका एक अदम्य साहस भएका व्यावसायिक योद्धा हुन् ।
गरी खाएको देख्न नसक्नेहरू व्यवसायमाथि धावा बोल्छन्, रिस गर्छन्, खुट्टा तान्न खोज्छन्, सके तान्छन् पनि, लुट्न खोज्छन् अनि लुट्छन्, जलाउन खोज्छन् अनि जलाउँछन्, भत्काउन खोज्छन् र भत्काउँछन् पनि । हजारौँ मानिस मिलेर लुटे अनि जलाए पनि, आफूले जन्माएको, आफूले बीजारोपण गरेको र आफूले हुर्काएको सन्तानजस्तै हो व्यवसाय, तर त्यसलाई देख्न सहेनन् ।
त्यो व्यवसाय जल्दा पैसा मात्र जल्दैन, सम्पत्ति मात्र जल्दैन, आफ्नो भावना पनि जल्छ, आफ्नो जोस–जाँगर पनि जल्छ । राज्यलाई धिक्कार दिन मन लाग्छ, राज्यका सुरक्षा निकायलाई धिक्कार दिन मन लाग्छ । सरकार अनि जनताप्रति नकारात्मक सोच आउन थाल्छ । यस्तो देश र वातावरणमा मैले किन लगानी गरें होला भन्ने निराशा छाउन सक्छ । तर उनले सबै बिर्सेर पनि फेरि टाउको उठाउने साहस गरेका छन् । हारेर पनि जितेका छन् ।
आफ्नो व्यवसायसँगसँगै आफ्नो छाती पनि जल्न थाल्छ । मन तड्पिन थाल्छ । यता हेर्यो उस्तै, उता हेर्यो उस्तै । व्यवसाय जलाएर सम्पत्ति त खरानी भयो, तर मन पनि खरानी हुन्छ । उत्साह मर्न थाल्छ, जोस–जाँगर हराउन थाल्छ, देशप्रति नै धिक्कार लाग्न सक्छ ।
तर मिनबहादुर गुरुङ एउटा यस्तो व्यक्तित्वका रूपमा देखा पर्नुभएको छ, जसले विपरीत परिस्थितिमा पनि हार मान्नुभएन । उनी पनि सामान्य परिवारबाट आएका मानिस हुन् । मेहनत गरेर व्यवसाय गरेका हुन् । देशको अर्थतन्त्र उकास्न योगदान गरेका छन्, जनतालाई सेवा दिएका छन्, मानिसहरूको जीवनलाई सहज बनाएका छन्, हजारौँलाई रोजगारी दिएका छन् र राज्यलाई कर तिरेका छन् ।
के आफूले लगानी गरेर, सेवा प्रदान गरेर, रोजगारी सिर्जना गरेर र राज्यलाई कर तिरेर पैसा कमाउन नपाउने हो र?
पक्कै होइन ।
उनीमा सायद भत्किँदैमा, एकपटक जल्दैमा हार नखाने, यही भूमिलाई केही दिने र जन्मभूमिमै फेरि आफ्नो शिर उठाउने प्रण, सोच र भावना छ । ‘म फेरि उठ्छु’ भन्ने भावना र आत्मविश्वास भएको मानिस अवश्य सफल हुन्छ भन्ने एउटा उदाहरण हुन् मिनबहादुर गुरुङ ।
उनीबाट सिक्नुपर्ने पाठ
मिनबहादुर गुरुङलाई विभिन्न समयमा विभिन्न ट्रोलबाजी पनि गरियो, भाटभटेनी डुब्दैछ, उनी मानसिक तनावमा छन्, आर्थिक तनावमा छन्, उनको यो व्यवसायमा विभिन्न व्यक्तिको अप्रत्यक्ष लगानी छ, जस्तो हैरानी र उनलाई साच्चै धेरै नै मानसिक तनाव दिने प्रयत्न पनि गरियोहोलान् । तर कसैको कुरा नसुनी, हल्लाको पछाडि नलागी, काम र कर्तव्यलाई अगाडि बढाउँदै लैजाने एक साहसिक पात्र हुन् । युद्धमा लड्दैमा र जित्दैमा जित हुँदैन, आफूले गरेको महान् संघर्षमा हारेर पनि जित्नु नै जीवनको जीत हो ।
१. सोच, दृढ विश्वास र पुनः उठ्ने संकल्प
मानिसको सोच, दृढ विश्वास र पुनः उठ्ने संकल्प बलियो छ भने उसले अवश्य सफलता हासिल गर्न सक्छ । जीवनमा समस्या आउँदैमा यात्रा समाप्त हुँदैन । समस्या र असफलताले मानिसलाई अझ बलियो बन्ने अवसर पनि दिन्छ भन्ने उदाहरण मिनबहादुर गुरुङ हुन् ।
२. नेपालमा केही गर्न सकिँदैन भन्नेहरूका लागि उदाहरण
‘नेपालमा केही हुँदैन’, ‘नेपालमा व्यवसाय गर्न सकिँदैन’ र ‘नेपालमा बसेर ठूलो सफलता हासिल गर्न सकिँदैन’ भन्नेहरूका लागि मिनबहादुर गुरुङ एउटा उदाहरण हुन् । उनले यही देशमा बसेर, यही समाजमा रहेर र नेपाली उपभोक्तालाई सेवा दिँदै ठूलो व्यवसाय निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् । देशप्रति देखाएको उनको साहस र नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास प्रेरणादायी छ ।
३. लड्दैमा मानिस सकिँदैन, फेरि उठ्न सकिन्छ भन्ने पाठ
जीवनमा लड्नु असफलता होइन । लडेपछि उठ्न नसक्नु मात्र वास्तविक हार हो । कुनै पनि मानिस एकपटक लड्दैमा समाप्त हुँदैन । उसले फेरि उठ्न सक्छ, फेरि हिँड्न सक्छ र पहिलेभन्दा अझ बलियो भएर आफ्नो यात्रा अगाडि बढाउन सक्छ । यही कुराको उदाहरण हुन् मिनबहादुर गुरुङ ।
४. लडाउन खोज्नेहरूले लडाए पनि साहसका साथ उठ्नुपर्छ
कसैले लडाउन खोज्दैमा हामी लडेर बसिरहनु हुँदैन । परिस्थितिले लडाए पनि साहसका साथ उठ्नुपर्छ । अरूले कमजोर बनाउन खोजे पनि आफ्नो आत्मविश्वास कमजोर बनाउनु हुँदैन । कठिन परिस्थितिलाई चुनौतीका रूपमा स्वीकार गर्दै पुनः अगाडि बढ्ने साहस गर्नुपर्छ ।
५. लक्ष्यमा पुग्न मेहनत, धैर्यता र आँट आवश्यक हुन्छ
सफलता एकै दिनमा प्राप्त हुँदैन । लक्ष्यमा पुग्न निरन्तर मेहनत, धैर्यता, अनुशासन र आँट आवश्यक हुन्छ । व्यवसायमा कहिले सफलता आउँछ, कहिले असफलता आउँछ । कहिले नाफा हुन्छ, कहिले घाटा हुन्छ । तर कठिन समयमा पनि धैर्य नगुमाइ निरन्तर अघि बढ्ने मानिस नै अन्ततः सफलताको शिखरमा पुग्छ ।
६. विनाशपछि पनि पुनः निर्माण गर्ने साहस
आफूले गरेको मेहनतको विनाश हुँदा मन मर्छ । फेरि सुरु गरौँ भन्ने भावना मर्न सक्छ । थकान हुन्छ । निराशा आउँछ ।
तर मिनबहादुर गुरुङबाट हामीले सिक्नुपर्ने कुरा के हो भने जीवनमा हार खानु हुँदैन । जीवनमा कहिले उकालो हुन्छ, कहिले ओरालो हुन्छ । कहिले समथर मैदानजस्तो अवस्था हुन्छ । तर जुनसुकै अवस्थामा पनि चट्टानझैँ अडिग भएर ‘म अझ राम्रो गर्छु, म फेरि उठ्छु’ भन्ने संकल्प गर्न सकियो भने मानिस अवश्य सफलताको शिखरमा पुग्न सक्छ ।
७. कमाउनु मात्र होइन, दिनु पनि पर्छ
व्यवसाय गरेर कमाउनु आवश्यक छ । तर कमाउनु मात्र जीवनको उद्देश्य हुनु हुँदैन । आफूले कमाएको सम्पत्तिको केही अंश समाजका लागि पनि दिन सक्नुपर्छ । व्यवसायीले समाजबाट कमाउँछ भने समाजप्रतिको जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ । विपन्न, असहाय, शिक्षा, स्वास्थ्य, विपद् तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्नु एउटा सफल व्यवसायीको सामाजिक दायित्व हो ।
८. समाज र देशप्रति जिम्मेवार भएर कमाएको सफलता मात्र वास्तविक सफलता हो
व्यवसाय गरेर पैसा कमाउनु मात्र ठूलो उपलब्धि होइन । आफूले कमाएको धनबाट समाजलाई योगदान गर्नु, रोजगारी सिर्जना गर्नु, राज्यलाई कर तिर्नु, आवश्यक परेका मानिसहरूलाई सहयोग गर्नु र देशको अर्थतन्त्रमा योगदान गर्नु पनि व्यवसायीको ठूलो जिम्मेवारी हो । त्यसैले व्यवसायीले आफूलाई एउटा प्रश्न सोध्नुपर्छ—‘मैले कति कमाएँ?’ मात्र होइन, ‘मैले समाज र देशलाई कति दिएँ?’ मिनबहादुर गुरुङको यात्रा यही दृष्टिकोणबाट हेर्दा अझ अर्थपूर्ण देखिन्छ । उनले समाजलाई पनि धेरै योगदान गरेका छन् । मीनबहादुर गुरुङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), महाराजगञ्जमा दुईवटा महत्वपूर्ण भवन निर्माण गरिदिएका छन् । आकस्मिक सेवा भवन विसं. २०६८ मा आफ्ना दिवंगत बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा करिब १० करोड रुपैयाँ लागतमा निर्माण गरिदिएका थिए । यसको साथै विस्तारित स्वास्थ्य सेवा भवन— २०२५ जुलाइमा करिब ९ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेका हुन् । यस भवनमा फार्मेसी तथा अन्य विस्तारित स्वास्थ्य सेवाहरू सञ्चालन हुने बताइएको छ ।
अन्त्यमा
मिनबहादुर गुरुङको कथा केवल भाटभटेनी सुपर स्टोर निर्माणको मात्र कथा होइन । यो हारपछि पनि उठ्न सकिन्छ, विनाशपछि पनि पुनर्निर्माण गर्न सकिन्छ र प्रतिकूल परिस्थितिमा पनि आफ्नो सपनालाई जोगाएर अगाडि बढ्न सकिन्छ भन्ने कथा हो । व्यवसायमा उतारचढाव आउन सक्छ । सम्पत्ति गुम्न सक्छ । संरचना भत्किन सक्छ । लगानी डुब्न सक्छ । मानिसले आलोचना गर्न सक्छन् । बाधा सिर्जना गर्न सक्छन् । तर मानिसको आत्मविश्वास, साहस, धैर्यता र पुनः उठ्ने संकल्प बाँचेको छ भने उसले फेरि नयाँ इतिहास निर्माण गर्न सक्छ । मिनबहादुर गुरुङ एक सफल व्यवसायी मात्र होइनन्; उनी संघर्षसँग नडराउने, विपरीत परिस्थितिसँग जुध्ने र पटक–पटक उठेर अघि बढ्ने नेपाली उद्यमशीलताको एउटा प्रेरणादायी प्रतीक हुन् । उनको जीवनबाट एउटा महत्वपूर्ण सन्देश लिन सकिन्छ, ‘परिस्थितिले जतिसुकै पटक लडाए पनि, उठ्ने साहस र अगाडि बढ्ने संकल्प कहिल्यै मर्न दिनु हुँदैन ।’
यही नै एक सच्चा व्यावसायिक योद्धाको पहिचान हो ।