विराटनगरमा सशस्त्र प्रहरी बल नेपालले सर्च अप्रेसन चलाएको छ । प्रहरीले विशेष सूचनाको आधारमा कोठा भाडामा लिएर तस्करीको समान भण्डारण गर्ने गोदाममा छापा मारेको हो । विराटनगर महानगरपालिका–८ मधुमारास्थित एक घरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरिएको रेडिमेड कपडा बरामद गरेको छ । उक्त घरको कोठाबाट ११ बोरा कपडा फेला पारेको हो । सशस्त्रले आफ्नो नियन्त्रणमा लिएका कपडामा विशेष गरी महिलाहरूले प्रयोग गर्ने कुर्था, टप्सलगायतका रेडिमेड कपडा छन् ।
बरामद भएको कपडाको प्रारम्भिक मूल्य ७ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । । कपडासँगै एउटा स्टेपलाइजर पनि सशस्त्रले फेला पारेको छ । सशस्त्र प्रहरी बल मोरङका एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार परिवार बस्ने प्रयोजनका लागि भन्दै परशुराम पौडेलको घरको कोठा छ महिना अगाडि भाडामा तस्करीको समूहले लिएको थियो । तर भाडामा लिइएको कोठामा मानिस नबसी भारतबाट रातको समयमा तस्करी गरेर ल्याइएका कपडा लुकाएर राख्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भण्डारीले बताए । भारतीय बजार जोगबनीबाट भन्सार छली नेपाल भित्र्याइएका कपडा मधुमारास्थित उक्त घरको कोठामा ल्याएर राख्ने र त्यसपछि विराटनगरसहितका अन्य जिल्लामा रहेका विभिन्न सहरमा पठाउने गरिएको एसपी भण्डारीको भनाइ छ । तस्करीको सूचना पाएपछि प्रहरीले शनिबार छापा मारेको हो । उक्त कोठामा करिब छ महिनादेखि कपडा भण्डारण हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
भारतबाट अवैध रूपमा ल्याइएका कपडा उक्त घरमा थुपार्ने र मागअनुसार अन्यत्र पठाउने गरिएको सशस्त्रको भनाइ छ । तर सशस्त्रले कोठा भाडामा लिएर कपडा भण्डारण गर्ने व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । कोठा भाडामा लिने व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको भन्ने भनाइ एसपी भण्डारीको छ । बरामद गरिएका कपडा तथा अन्य सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको भण्डारीले बताए । चाडपर्व नजिकिँदै गर्दा खुला सीमाको प्रयोग गरी तस्करी बढ्न थालेको देखिएको छ । भारतबाट क्यारिङमार्फत भन्सार छली गरेर लत्ताकपडा, खाद्यान्न, मोटर पाट्र्सलगायतका सामग्री नेपाल भित्र्याएर विराटनगरका विभिन्न स्थानमा अस्थायी रूपमा भण्डारण गर्ने र पछि अरु जिल्लाका विभिन्न सहरतर्फ पठाउने प्रवृत्ति देखिँदै पुुरानै रहेको छ ।
तस्करीमार्फत भित्रिएका सामान बजारमा सस्तो मूल्यमा पुग्दा वैधानिक रूपमा कारोबार गर्ने स्थानीय व्यवसायी प्रभावित हुँदै आएका छन् । तस्करीका सामानका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको र कारोबारमा असर परेको भन्दै फेरि तिनै व्यवसायीहरूले गुनासोसमेत गर्ने गरेका छन् ।
सशस्त्र प्रहरीले तस्करीका सामान बरामद गर्दै आए पनि खुला सीमाको फाइदा उठाउँदै ठूलो परिमाणमा अवैध सामग्री नेपाल भित्र्याउने क्रम रोकिएको छैन । चाडपर्वको समयमा तस्करी अझ बढ्न सक्ने भएकाले सीमा क्षेत्रदेखि सम्भावित भण्डारण गर्ने स्थलसम्म निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउने सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरीले शनिबार नै विराटनगर–५ हरिहरपथका हरिबहादुर कार्कीको घरमा पनि भाडामा लिएको कोठाबाट तस्करीको कपडा नै बरामद गरेको जानकारी दिएको छ । सशस्त्रले सानो र ठूलो गरेर १० पोका कपडा बरामद
गरेको हो ।