काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले उपलब्ध स्रोतसाधनका साथै दातृ निकायबाट प्राप्त सहयोगसमेत परिचालन गर्ने तयारी भइरहेको बताए।
उनले प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलले विपद्बाट प्रभावित समुदायको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर उद्धार तथा व्यवस्थापनको काम भएको भन्दै उनले खुसी व्यक्त गरे।
प्रधानमन्त्री शाहले भने, “यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्यौँ।”
सरकारले प्रभावित क्षेत्रमा सडक सञ्जाल यथाशीघ्र पुनःस्थापना गर्न निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले सडक सञ्चालनमा आएपछि प्रभावित नागरिकलाई पूर्ववत् अवस्थामा फर्किन सहज हुने बताए।
प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय आफूहरूले सुरुदेखि नै उठाउँदै आएको उल्लेख गरे। अब बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने भन्दै उनले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा व्यवस्थित बस्ती विकास गर्ने तयारी भइरहेको जानकारी दिए।
नयाँ बस्ती निर्माण गर्दा प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति तथा सामाजिक सम्बन्धलाई समेत ध्यान दिनुपर्ने प्रधानमन्त्री शाहको भनाइ छ। खेतीयोग्य जमिनको संरक्षण गर्दै वैज्ञानिक र सुरक्षित ढंगले बस्ती व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
यसका लागि सुरक्षित स्थानमा जग्गा पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न उनले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलबाट त्यहाँको वास्तविक अवस्था बुझ्नसमेत सहयोग पुगेको प्रधानमन्त्री शाहले बताए।