विक्रम संवत् २०८३ साल भदौ १० गते बिहान तिब्बत तर्फबाट अचानक आएको भीषण बाढीले रसुवा जिल्लाको भोटेकोशी नदी हुँदै त्रिशूली करिडोरमा अकल्पनीय विध्वंस मच्चायो । यो बाढीले केवल स्थानीय बस्ती, सडक, पुल र जलविद्युत् संरचनामा मात्र क्षति पु¥याएको थिएन । यसले नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रसुवा तथा आसपासका क्षेत्रको पर्यटन पूर्वाधार, व्यवसाय र अन्तर्राष्ट्रिय छविमा गहिरो प्रभाव पारेको छ । जसमा भन्ने नै हो भने लाङटाङ, गोसाइँकुण्ड, कैलाश मानसरोवर यात्रासँग जोडिएको यो करिडोरमा पर्यटक, तीर्थयात्री र स्थानीय व्यवसायीहरूको ठूलो संख्या प्रभावित भयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका ताजा विवरणहरूअनुसार समग्र क्षति खर्बौं रुपैयाँमा पुगेको छ भने पर्यटन क्षेत्रमा मात्र प्रारम्भिक अनुमान ५० अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी देखिएको छ । यस अर्थमा बाढीको घटना, पर्यटन क्षेत्रमा पुगेको क्षतिको प्रारम्भिक तथ्यांकको अनुमान, प्रभावित पूर्वाधार, आर्थिक प्रभाव, पुनरुत्थानका चुनौती र भविष्यका सम्भावनाहरूलाई विस्तृत रूपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
बाढीको घटना र समग्र परिदृश्य
गत भदौ १० गते बिहान करिब ८ः३० देखि ९ः०० बजेतिर तिब्बतको ल्हेन्दे खोला÷हिमाली क्षेत्रबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि रसुवागढी, टिमुरे, स्याफ्रुबेँसीलगायतका तटीय बस्तीहरूमा ठूलो विनाश आयो । त्यस क्षेत्रमा स्थानीय वर्षा नभए पनि माथिल्लो तटीय क्षेत्रबाट अचानक पानीको ठूलो लहर आएको थियो । यसले मितेरी पुल, भन्सार यार्ड, सडक खण्डहरू र धेरै निजी तथा सरकारी संरचना बगायो । फलतः बाढीको असर नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासीसम्म फैलिएर त्रिशूली–नारायणी करिडोरमा समेत ठूलो क्षति पुर्यायो । सोको सम्बन्धित क्षेत्रको तथ्यांकअनुसार गत भदौ २२ गते सम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय भन्दा बढी पुष्टि भएको छ भने ५ हजार भन्दा बढी व्यक्ति सम्पर्कविहीन/बेपत्ता छन् । यसमा उद्धार गरिएका हजारौंमध्ये धेरै घाइते अस्पतालमा उपचाररत छन् । त्यसरी नै रसुवा र नुवाकोट अति प्रभावित जिल्लाका रूपमा देखिएका छन् । निजी घरहरू मात्रै करिब ७ हजार ५७० क्षतिग्रस्त भएका छन् । त्यस्तै, सडक विभागका अनुसार दर्जनौं पक्की पुल ३२ देखि ४१ वटासम्म पूर्ण रूपमा बगेका र करिब ४० देखि ५५ किलोमिटर सडक क्षतिग्रस्त भएको छ ।
त्यसैगरी सडक–पुलतर्फ मात्र प्रारम्भिक २० अर्ब रुपैयाँको क्षति अनुमान गरिएको छ भने समग्र आर्थिक क्षति ३ खर्ब ८७ अर्ब रुपैयाँ हाराहारी पुगेको प्राधिकरणको प्रारम्भिक मूल्यांकन छ । यी तथ्यांकहरू खोज–उद्धार जारी रहँदा अझ परिवर्तन हुन सक्छन् । यो घटनाले गतसालको असार २४ मा भएको सानो स्केलको बाढीपछिको दोस्रो ठूलो विपत्ति हो । त्यसबेला पनि मितेरी पुल बगेको थियो र केही जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । तर यससाल को बाढी मानव क्षति र पूर्वाधार विनाशका दृष्टिले धेरै ठूलो साबित भयो । वस्तुतः जलवायु परिवर्तनसँग जोडिएको हिमपहिरो, ग्लेसियल लेक आउटबस्र्ट वा हिम–चट्टान स्लाइड जस्ता कारणहरूको आशंका गरिएको छ । तर पूर्ण वैज्ञानिक अध्ययन गर्न बाँकी नै रहेकोछ ।
पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभावः पर्यटक र तीर्थयात्री
रसुवा भोटेकोशी–त्रिशूली करिडोर नेपालको महत्वपूर्ण पर्यटकीय र तीर्थयात्रा मार्ग पनि हो । यी लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड, कैलाश मानसरोवर यात्रा (चीनतर्फको नाका हुँदै) र स्थानीय ट्रेकिङ रुटहरू यहाँ केन्द्रित छन् । जबकि बाढीको समयमा यी मार्गहरूमा धेरै पर्यटक र तीर्थयात्रीहरू थिए । नेपाल पर्यटन बोर्ड र सम्बन्धित निकायका प्रारम्भिक विवरणअनुसार बाढीपछि ३८४ देखि ४८४ जनासम्म पर्यटक तथा तीर्थयात्री सम्पर्कविहीन भएका थिए । तीमध्ये ३४१ देखि ३९१ जना विदेशी र बाँकी नेपाली थिए । कैलाश मानसरोवर यात्रासँग सम्बन्धित समूहहरू ठूलो संख्यामा प्रभावित भए । भारतीय पर्यटकहरू सबैभन्दा बढी (१३३ जनासम्म) सम्पर्कविहीन भएको रिपोर्ट आएको थियो । त्यसपछि अमेरिकी, अस्ट्रेलियाली, बेलायती, क्यानेडियन, मलेसियालीलगायत २५ भन्दा बढी देशका नागरिकहरू समावेश थिए ।
पछिल्ला अपडेटहरूमा विदेशी नागरिकहरूको सम्पर्कविहीन संख्या ५८३ सम्म पुगेको उल्लेख छ । उद्धार कार्यमा नेपाली सेना, प्रहरी र हेलिकप्टरहरू सक्रिय रहे र सयौंलाई उद्धार गरियो । तर अझै धेरैको अवस्था यकिन हुन सकेको छैन । यो घटनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन छविमा असर पार्न सक्छ । जसलेगर्दा कतिपय देशहरूले यात्रा सल्लाह जारी गरेका छन् भने आगामी सिजनका बुकिङहरूमा रद्द हुने क्रम देखिएको छ । कैलाश यात्राका करिब ५० प्रतिशत बुकिङ रद्द भएको व्यवसायीहरूको भनाइ छ भने समग्र सिजनमा ३० प्रतिशतसम्म असर पर्न सक्ने अनुमान गरिएको छ ।
पर्यटन पूर्वाधार र व्यवसायमा क्षति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ अनुसार संसदीय समितिमा दिएको जानकारीअनुसार बाढीबाट पर्यटन व्यवसायसँग सम्बन्धित १४२ वटा होटल, ५७ वटा साना होटल/रेस्टुरेन्ट र १४१ वटा सवारीसाधनमा क्षति पुगेको छ । यसको साथै थप २७ वटा सम्पदा/धार्मिक–सांस्कृतिक स्थलहरू प्रभावित भएका छन् । जसमा लाङटाङ, गोसाइँकुण्ड, पर्वतीकुण्ड र नथालीलगायतका पदमार्गहरूमा क्षति पुगेको छ । पर्यटकको रोजाइमा रहेका स्याफ्रुबेँसी (लाङटाङको मुख्य प्रवेशद्वार) मा हेलिप्याडसमेत क्षतिग्रस्त भएकाले उद्धार र भविष्यको आवागमनमा समस्या सिर्जना भएको छ । रसुवागढी–स्याफ्रुबेँसी–टिमुरे करिडोरमा सडक र पुलहरू बग्दा पहुँच मार्ग पूर्ण रूपमा अवरुद्ध भयो । यसले होटल, लज, गाइड, पोर्टर, यातायात र स्थानीय साना व्यवसायहरूलाई प्रत्यक्ष असर पारेको छ ।
धेरै साना तथा मझौला पर्यटन व्यवसायीहरू विस्थापित भएका छन् । होटल व्यवसायी महासंघका प्रतिनिधिहरूले यसले स्थानीय अर्थतन्त्रमा गम्भीर धक्का दिएको बताएका छन् । प्रारम्भिक अनुमानमा पर्यटन क्षेत्रको क्षति ५० अर्ब रुपैयाँभन्दा बढी रहेको सम्बन्धित निकायहरूले उल्लेख गरेका छन् । यसमा प्रत्यक्ष भौतिक क्षति, व्यवसायको आम्दानी घाटा, बुकिङ रद्द र दीर्घकालीन प्रभाव समावेश छन् । रसुवा क्षेत्रमा पर्यटन आम्दानी स्थानीय जनताको महत्वपूर्ण आयस्रोत हो । बाढीपछि यो स्रोत सुकेको छ । सडक पुनर्निर्माण नभएसम्म लाङटाङ र गोसाइँकुण्डतर्फको आवागमन सहज हुने छैन । वैकल्पिक पदमार्ग खोज्ने प्रयास भइरहेको छ । तर त्यो पर्याप्त नहुन सक्छ ।
आर्थिक र सामाजिक प्रभाव
पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ हो । यो क्षेत्रबाट विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र स्थानीय विकासमा यसको योगदान ठूलो छ । रसुवा–लाङटाङ क्षेत्रमा वार्षिक हजारौं आन्तरिक र बाह्य पर्यटक आउँछन् । विक्रम संवत् २०८२ मा मात्रै लाङटाङ क्षेत्रमा करिब ३३ हजार पर्यटक पुगेको तथ्यांक थियो । जसमध्ये ठूलो हिस्सा विदेशी थिए । यो भूभाग अहिले बाढीले यो प्रवाह अवरुद्ध गरेको छ । यहाँका स्थानीय स्तरमा होटल, रेस्टुरेन्ट, गाइड, पोर्टर, ट्याक्सी/जिप चालक, पसल सञ्चालकलगायत सयौं परिवार प्रभावित भएका छन् । यसर्थ धेरैले आफ्नो जीवनभरको लगानी गुमाएका छन् । यसबाट विस्थापितहरू होल्डिङ सेन्टरमा बसिरहेका छन् ।
उनीहरूलाई सामाजिक रूपमा परिवार विखण्डन, मनोवैज्ञानिक तनाव र आम्दानीको अभावले गरिबी बढाउने जोखिम छ । विद्यालय, स्वास्थ्य चौकीहरू पनि क्षतिग्रस्त भएकाले दीर्घकालीन सामाजिक सेवामा असर परेको छ । समग्र अर्थतन्त्रमा पनि यसको प्रभाव पारेको छ । जलविद्युत् आयोजनाहरूमा समेत क्षतिले विद्युत् उत्पादन घटाएको छ । व्यापारिक नाका अवरुद्ध हुँदा चीनसँगको व्यापारमा असर परेको छ । जसले पर्यटनसँग जोडिएको आपूर्ति शृंखलालाई पनि प्रभाव पार्छ ।
निष्कर्ष
समग्रमा भन्नुपर्दा भोटेकोशीको बाढीले रसुवाको पर्यटन क्षेत्रमा पुर्याएको क्षति केवल होटल, रेस्टुरेन्ट, सडक र पुल भत्किएको घटनामा सीमित छैन् । यसले पर्यटनमा निर्भर परिवारको आम्दानी, स्थानीय रोजगारी, निजी लगानी, पर्यटकको सुरक्षा र नेपालको हिमाली पर्यटनको अन्तर्राष्ट्रिय छविसम्म प्रभाव पारेको छ । यसर्थ करिब ५० अर्ब रुपैयाँ हाराहारीको पर्यटन क्षतिमा १४२ होटल, ५७ रेस्टुरेन्ट र १४१ सवारीसाधनमा परेको क्षतिको प्रारम्भिक अनुमानले घटनाको आर्थिक गम्भीरता देखाउँछ । मूलतः सयौँ पर्यटक सम्पर्कविहीन भएको तथ्यांकले पर्यटन सुरक्षाको प्रश्न अझ गम्भीर बनाएको छ । तर विपद्पछि पर्यटन पूर्ण रूपमा समाप्त हुन्छ भन्ने निष्कर्ष निकाल्नु पनि उचित हुँदैन ।
अतः रसुवाको प्राकृतिक सौन्दर्य, लाङटाङ, गोसाइँकुण्ड, तामाङ संस्कृति र हिमाली पहिचान दीर्घकालीन पर्यटनका बलिया आधार हुन् । जसको आवश्यक पूर्वाधार सुरक्षित रूपमा पुनर्निर्माण गर्ने, पर्यटकको सुरक्षा सुनिश्चित गर्ने र स्थानीय समुदायलाई पर्यटन पुनरुत्थानको केन्द्रमा राख्ने हो भने रसुवा फेरि नेपालको महत्वपूर्ण हिमाली पर्यटन गन्तव्य बन्न सक्छ । यसलाई बेलैमा सबैभन्दा ठूलो पाठ भनेको अब पर्यटन पूर्वाधार बनाउँदा कति सुन्दर बनाउने ?’ भन्दा पहिले कति सुरक्षित बनाउने? भन्ने प्रश्न सोध्नुपर्छ भन्ने हो ।