काठमाडौं, रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सन सेक्युरिटिज प्रालिले २ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
बाढीबाट सिर्जित घटनाक्रमले आफूहरूलाई मर्माहत तुल्याएको जनाउँदै कम्पनीले विपद्का बेला प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राज्यलाई सहयोग गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत रूपमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार दैवी प्रकोपका समयमा आवश्यक पर्ने खोजी तथा उद्धार कार्यमा नेपाल सरकारको दक्षता र क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको हो ।
सन सेक्युरिटिजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपदमा परेका नागरिकको सहयोगका लागि योगदान गरेको जनाएको छ । कम्पनीले दुई लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको जानकारी दिएको छ ।