काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामध्ये आठ वटा सञ्चालनमा रहेका र चार वटा निर्माणाधीन आयोजना रहेका छन्।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले तयार गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट क्षतिग्रस्त तथा प्रभावित ११ वटा आयोजनामा कार्यरत ९४७ जना अझै सम्पर्कविहीन छन्। केही आयोजनामा उद्धार गरिएका र सकुशल रहेका व्यक्तिको विवरण प्राप्त भए पनि कतिपय स्थानमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ।
माथिल्लो त्रिशूली–१ मा सबैभन्दा धेरै ५५७ जना सम्पर्कविहीन
बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भएको छ। बाढी आउनुअघि आयोजनामा एक हजार ४३३ जना कार्यरत रहेकामा ८७६ जनाको उद्धार गरिएको छ भने ५५७ जना अझै सम्पर्कविहीन छन्।आयोजनाका प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अनुसार सम्पर्कविहीनमध्ये करिब ११५ जना मुख्य सुरुङ र हेडवर्क्स अर्थात् बाँध क्षेत्रमा फसेको आशंका गरिएको छ।
सम्पर्कविहीनमध्ये प्रवर्द्धक कम्पनीका १५ जना, परामर्शदाता जेड कन्सल्टका सात जना, मुख्य ठेकेदार दुसानका ५६ जना, पावर चाइनाका ३८५ जना तथा इलेक्ट्रोमेकानिकल ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना रहेका छन्।
रसुवागढीमा ९३ जना सम्पर्कविहीन
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। उनीहरूमध्ये भूमिगत विद्युत्गृहमा कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन।
यस आयोजनामा तीन जना सुरक्षित स्थानमा पुगेका छन् भने चार जना बाढी आएको दुई दिनपछि भूमिगत डिस्चार्ज क्षेत्रबाट आफैँ बाहिर निस्किएपछि उद्धार गरिएको थियो।
रसुवा–भोटेकोसीमा पाँच जनाको उद्धार
१२० मेगावाट क्षमताको रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाबाट चार जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। आयोजनास्थलमा रहेका तीन जना चिनियाँ र दुई जना नेपाली गरी पाँच जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको छ।
लाङटाङ खोलामा ४१ जना अझै सम्पर्कबाहिर
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा ४१ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। उद्धार टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म पुगेर खोजी गरेको र उद्धार कार्यलाई थप तीव्र बनाइएको जनाएको छ।आयोजनाको प्रारम्भिक विवरणअनुसार १९ जनाको भने उद्धार गरिएको छ।
चिलिमेमा विद्युत्गृहभित्र ६ जना फसेको आशंका
२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा छ जना भूमिगत विद्युत्गृहमा फसेको आशंका गरिएको छ। उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको विज्ञ टोली परिचालन गरिएको भए पनि बुधबारसम्म उनीहरूसम्म पुग्न सकिएको छैन।चिलिमेको साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा विद्युत्गृहमा काम गरिरहेका छ जना फसेका छन् भने अन्य कर्मचारी सुरक्षित स्थानमा पुगेका छन्।
मैलुङ खोलाका सात जनाको अवस्था अज्ञात
पाँच मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत सात जना एक सातासम्म पनि सम्पर्कमा आउन नसकेको विवरणमा उल्लेख छ। उनीहरूको अवस्था अझै अज्ञात रहेको छ।त्यस्तै, २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रमा कार्यरत ७३ जनामध्ये ७० जना सकुशल रहेका छन् भने दुई जना सुरक्षागार्ड र एक कर्मचारी गरी तीन जना सम्पर्कविहीन छन्।
माथिल्लो त्रिशूली–३ ‘ए’मा ४२ जना फसेको अनुमान
६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको भूमिगत विद्युत्गृहमा मर्मतका लागि गएका ४२ जना फसेको अनुमान गरिएको छ। सुरुङभित्र बाढीले ल्याएको ढुंगा, बालुवा र माटो थुप्रिएकाले उद्धार टोलीलाई विद्युत्गृहसम्म पुग्न कठिनाइ भइरहेको छ।उद्धार टोलीले सुरुङभित्र प्रवेश गर्ने बाटो बनाउने तथा जमेको पानी पम्पिङ गरी बाहिर निकाल्ने काम गरिरहेको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’मा १९१ जना सम्पर्कविहीन
३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाबाट १९१ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सुरुङमा काम गरिरहेका २३ जना भने बाहिर निस्कन सफल भएका छन्।सम्पर्कविहीनहरूको खोजीका लागि आवश्यक उपकरण तथा एक्स्काभेटर परिचालन गर्ने तयारी भइरहेको बताइएको छ।
अन्य आयोजना पनि प्रभावित
१४ दशमलव १ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रबाट एक जना सुरक्षागार्ड सम्पर्कविहीन छन् भने अन्य कर्मचारी सुरक्षित स्थानमा पुगेका छन्।१५ दशमलव ६ मेगावाट क्षमताको मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन छन्। एक जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ।
यता, २५ मेगावाट क्षमताको नुवाकोट सौर्य विद्युत् आयोजना पनि बाढीबाट गम्भीर रूपमा प्रभावित भएको छ। आयोजनाको १९ दशमलव ६ मेगावाट उत्पादन गर्ने सौर्य प्लान्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
सात स्थानमा स्थापना गरिएका सौर्य प्लान्टमध्ये चार स्थानका प्लान्ट बाढीले बगाएको विवरणमा उल्लेख छ। कार्यालय तथा नियन्त्रण भवनसमेत बगेका छन्। यद्यपि आयोजनामा कार्यरत सबै कर्मचारी सुरक्षित रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङ, विद्युत्गृह तथा आयोजनास्थलमा नेपाली सेना, सुरक्षाकर्मी, प्राविधिक र उद्धार टोली परिचालन गरी सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।