काठमाडौँ । नेपाली सेनाले रसुवा क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना तथा आयोजनाका प्रतिनिधि र इन्जिनियरसहितको संयुक्त टोली सुरुङभित्र २७५ मिटरसम्म पुगेर खोजी कार्य गरिरहेको छ। उक्त क्षेत्रमा हेभी मेसिनरीको प्रयोगमार्फत उद्धार कार्यलाई थप तीव्र बनाइएको सेनाले जनाएको छ।
त्यस्तै, लाङटाङ जलविद्युत् आयोजनामा विदेशी नागरिकसहित २५ सदस्यीय संयुक्त खोज तथा उद्धार टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी कार्यमा जुटिरहेको छ।चिलिमे जलविद्युत् आयोजनामा माउन्टेन एसोसिएसन र विदेशी नागरिकसहितको संयुक्त टोली सुरुङभित्र करिब १५० मिटरसम्म पुगेको थियो। सो स्थानमा सुरुङ बन्द अवस्थामा भेटिएपछि ध्वनि उपकरणको प्रयोग गरी थप निरीक्षण तथा खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा संयुक्त खोज तथा उद्धार टोलीले सुरुङको मुख ढुङ्गाले थुनिएको अवस्थामा फेला पारेको छ। अवरोध हटाउँदै सुरुङभित्र प्रवेश गर्ने प्रयास जारी रहेको सेनाले जनाएको छ। हाकुबेसी क्षेत्रमा विदेशी नागरिकसहितको संयुक्त टोली २६० मिटरसम्म पुगेर खोजी गर्दा हालसम्म केही फेला नपरेको बताइएको छ।
यसैगरी, मुख्य सुरुङको एक्सेस–१ बाट करिब १५० मिटर र एक्सेस–२ बाट २० मिटर अगाडि बढ्दा २६ मिटर पानी जमेको पाइएको नेपाली सेनाले जनाएको छ।त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा ९३ सदस्यीय संयुक्त टोलीले उद्धार तथा खोजी कार्य जारी राखेको छ। त्यहाँ चार वटा एक्स्काभेटर र बबक्याटको प्रयोग गरी माटो तथा अवरोध पन्छाउने काम भइरहेको छ। ब्लास्टिङपछि सुरुङ क्षेत्रमा लेदो भेटिएपछि त्यसलाई हटाएर पुनः चट्टान ब्लास्ट गर्ने कार्य भइरहेको सेनाले जनाएको छ।
त्यस्तै, त्रिशूली थ्री बीमा नेपाली सेनाका ६१ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्राविधिक सम्मिलित संयुक्त टोलीले आयोजनाको कार्यालय र आवासीय क्षेत्र पहिचान गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। रसुवा बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा विभिन्न जोखिमयुक्त क्षेत्रमा नेपाली सेना, आयोजनाका प्राविधिक, विदेशी विशेषज्ञ र अन्य सरोकारवाला निकायको संयुक्त टोली परिचालन गरी बेपत्ता तथा फसेकाहरूको खोजी र उद्धार कार्य तीव्र पारिएको नेपाली सेनाले जनाएको छ।