काठमाडौं, ‘(रसुवाको) यो पहिरोले थुनिएको टनेल हैन । यी बाढी भित्र पसेर सँगसँगै हिलो माटोहरूले पूरै थुनिएका टनेलहरू हुन् । यससम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग थिएन । हामीसँग पनि छैन । तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन । विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए, त्योभन्दा यो एकदमै विल्कुलै फरक किसिमको अवस्था हो ।’
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार संघीय संसद्को प्रतिनिधिसभामा रसुवा बाढीको बारेमा सम्बोधन गर्दै दिएको प्राविधिक मन्तव्य थियो त्यो । तर, जलविद्युत् आयोजनाहरू निर्माणमा नेतृत्वदायी भूमिका खेलेका विज्ञ (इन्जिनियर)हरू भने प्रधानमन्त्री बालेनको उक्त भनाइमा पूर्णतः असहमत छन् ।
‘प्रधानमन्त्रीले रसुवाको टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने खालका एक्सपर्टहरू विश्वभर छन् तर रसुवाको टनेलहरूमा आएको समस्या फरक किसिमको हो भने पनि त्यो सफा गर्ने मेसिन र प्रविधि हुँदै नभएको होइन’, चिलिमे जलविद्युत् आयोजना सञ्चालनमा नेतृत्वदायी भूमिका खेलिसकेका र हाल पनि जलविद्युत् क्षेत्रमा कार्यरत एक इन्जिनियरले आर्थिक दैनिकसित भने, ‘म अहिले पनि सेवामै कार्यरत भएको कारण नाम नलेख्नुहोला, फेरि सरकारले कारबाहीस्वरूप उपहार दिन सक्छ । सुरुङमा बाहिरबाट प्रवेश गरेको लेदो, ढुंगा र अन्य गेग्रान हटाउन यहाँको साना मेसिन होइन ठूला र लामा एक्स्काभेटर र पानी तथा लेदो तान्ने पम्प र पाइप चाहिन्छ । त्यो भारत, चीन वा अन्य देशमा प्रशस्त छन् । विज्ञहरूलाई जिम्मा दिने हो भने त्यो काम तत्काल सुरु गर्न सकिन्छ ।’
ती इन्जिनियरका अनुसार ठूला र लामा त्यस्ता मेसिनहरू भएमा टनेलभित्र ट्रक लगिरहनु पर्दैन । त्यसरी तान्ने मेसिनलाई ‘लङ कन्भेयर बेल्ट’ भनिन्छ । त्यसले लामो दूरीमा रहेको गेग्रान हटाउने काम गर्छ । उनका अनुसार विश्वमा यतिसम्म प्रविधि छ कि त्यस्ता एक्स्काभेटर र लोडर रिमोर्टबाट सञ्चालन गर्न पनि सकिन्छ । त्यसले गर्दा मेसिनको अगाडि चालक बसेर जोखिम मोल्नु नै पर्दैन ।
ती इन्जिनियरका अनुसार रसुवाका धेरैजसो टनेलभित्र ठूला–ठूला ढुंगा र गेग्रानहरू छन् भने माथिबाट अर्को प्वाल पारेर पनि लेदो र गेग्रान पन्छाउन सकिन्छ साथै लामो टनेलमा कन्भेयरबाट लेदो बाहिर लैजानु अन्तर्राष्ट्रिय रूपमा पनि सामान्य प्रविधि हो । तर यो काम २४सै घण्टा निरन्तर गर्नुपर्ने हुन्छ । त्यसका लागि धेरै र ठूला मेसिनहरू सरकारले घटना भएको भोलिपल्टै सो क्षेत्रमा खसाल्नुपर्ने थियो । पहिलो दिन नै विश्वसँग उक्त प्रविधि र मेसिन माग्नुपर्ने थियो । तर, सरकार त्यसमा चुकेको छ । सरकारले जुन मेसिन लगेर सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास गर्यो त्यो पर्याप्त छँदै थिएन । यहाँ मानिसको जीवनमाथि खेलबाड गर्ने काम भयो ।
अर्को कुरा अहिले गेग्रान जम्मा भएको कारण सबैतिर भोटेकोशी/त्रिशूलीको लेभल माथि आएको कारण सुरुङमार्गको मुख तल पर्न गएको छ । त्यस कारण पनि जमिनमुनिको पावर हाउस पूर्णतः कोल्याप्स हुने अवस्था देखिएको छ । लेदो नसुक्दै पन्छाउने काम निरन्तर गर्नुपर्ने हुन्छ । तर, सरकारको सोच भने रसुवाको टनेलबाट पन्छिने खालको छ । अब काम गर्न सकिँदैन र विश्वभर प्रविधि नै छैन भनेर झुटको सहारा लिने प्रयास सुरु प्रधानमन्त्रीबाटै भएको छ । रसुवाका जलविद्युत् आयोजनाको टनेल सफा कसरी गर्ने र मानवलाई जीवित रूपमा कसरी उद्धार गर्न सकिन्छ भन्ने बारेमा विज्ञहरूले ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई सुझाव नदिएको होइन । ‘मैले पनि सुझाव दिएको थिएँ’, ती इन्जिनियरले भने, ‘उनीहरूले टेर्दै टेरेनन् ।’
बाढी आएको एक सातासम्म सरकारले एउटा/दुईवटा साना मेसिन लगेर सुरुङको मुख खोतल्ने काम मात्र गरेको थियो । त्यसले उद्धार असम्भव देखिएपछि मात्र सरकारले सम्बन्धित आयोजनालाई विषयविज्ञसहित आउन भनेको थियो । जुन काम धेरै ढिला भइसकेको थियो । यो ढिलाइले सुरुङमा फसेकाहरूलाई जीवितै उद्धार गर्न अति नै कठिन भइसकेको समेत ती इन्जिनियरको दाबी छ । प्रधानमन्त्रीलाई धेरै मेसिनभन्दा पनि लामा र ठूला मेसिन लैजान विज्ञहरूले सुझाव नदिएका होइनन् । तर, प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेनले धेरै मेसिन लैजान र चलाउन सम्भव नभएको बताएर विज्ञहरूको सुझावलाई बेवास्ता गरेका छन् ।