काठमाडौं, यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालको बैंकिङ क्षेत्रमा ठूलो भौतिक तथा वित्तीय क्षति पुगेको छ । नेपाल बैंकर्स संघका अनुसार बाढीका कारण सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १२ वटा बैंकका १६ वटा शाखा पूर्णरूपमा ध्वस्त भएका छन् ।
ती शाखाका भौतिक संरचनामा मात्रै बैंकिङ क्षेत्रको ५५ करोड ६८ लाख रुपैयाँबराबरको लगानी नष्ट भएको संघले जानकारी दिएको छ । भोटेकोशी बाढीबाट सबैभन्दा ठूलो भौतिक क्षति सरकारी स्वामित्वको कृषि विकास बैंकले व्यहोरेको छ । संघका अनुसार त्रिशूलीमा रहेको कृषि विकास बैंकको आफ्नै भवन पूर्णरूपमा ध्वस्त हुँदा करिब ५० करोड रुपैयाँबराबरको क्षति भएको छ ।
यसैगरी सिटिजन्स बैंक इन्टरनेसनलको नुवाकोटस्थित देवीघाट शाखाको भौतिक संरचना बाढीले क्षति पु¥याउँदा एक करोड २० लाख रुपैयाँबराबरको नोक्सानी भएको छ भने माछापुच्छ«े बैंकको टिमुरे शाखामा बाढीबाट ५७ लाख ४४ हजार रुपैयाँबराबरको भौतिक संरचना ध्वस्त भएको छ । हिमालयन बैंकको वेत्रावती शाखामा ५७ लाख ९२ हजार रुपैयाँ तथा सानिमा बैंकको टिमुरे शाखामा ४८ लाख ३९ हजार रुपैयाँबराबरको भौतिक संरचना नष्ट भएको संघले जानकारी दिएको छ ।
बाढीका कारण बैंकहरूको भौतिक संरचना मात्रै नभई बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी र लाखौँ रुपैयाँबराबरको निक्षेप तथा कर्जा प्रभावित भएको संघले जानकारी दिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार भोटेकोशी बाढीका कारण बैंकिङ क्षेत्रमा कार्यरत २६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । बाढीका कारण ७८ हजार २०४ वटा निक्षेप खाता प्रभावित भएका छन् । ती खातामा रहेको करिब चार अर्ब ४३ करोड रुपैयाँबराबरको निक्षेपमा असर परेको अध्यक्ष कोइरालाले बताएका छन् ।
यसैगरी, बाढी प्रभावित बैंक शाखाहरूमा रहेका दुई हजार एक सय २५ वटा कर्जा खाता समेत प्रभावित भएका छन् । ती खातामार्फत प्रवाह भएको करिब दुई अर्ब ४२ करोड रुपैयाँबराबरको कर्जा प्रभावित भएको संघले जानकारी दिएको छ । बाढीको चपेटामा परेका बैंकका शाखाहरूको भल्टमा समेत ठूलो रकम रहेको थियो । संघका अनुसार प्रभावित शाखाहरूका भल्टमा १७ करोड २४ लाख रुपैयाँबराबरको रकम रहेको थियो ।
भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको भौतिक पूर्वाधारमा मात्रै नभई कर्मचारी, निक्षेप, कर्जा तथा नगद व्यवस्थापनमा समेत गम्भीर असर पारेकोे छ । बैंकका शाखा तथा संरचना पुनर्निर्माणसँगै प्रभावित ग्राहकको बैंकिङ सेवा पुनः सहज बनाउनु अहिलेको प्रमुख चुनौती बनेको संघका अध्यक्ष कोइरालाले बताए ।
दोहोरो अंकले उक्लियो सेयरबजार
सेयरबजार दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन नौ दशमलव २४ अंकले उकालो लागेको नेप्से बुधबार पुनः १५ दशमलव ४४ अंकले उकालो लागेको छ ।
योसँगै बजार २५ सय ३८ दशमलव ११ विन्दुमा चढेको छ । धितोपत्र बजारमा बुधबार तीन सय ५४ वटा सेयर ३९ हजार छ सय ७३ पटक कारोबार हुँदा ७२ लाख ६८ हजार दुई सय दुई कित्ता खरिदबिक्री भएका छन् । बुधबार कुल दुई अर्ब ९४ करोड बढीको कारोबार भएको हो ।
यस दिन निर्जीवन बीमा सात दशमलव २८, सामूहिक लगानी कोष शून्य दशमलव शून्य एक विन्दुले खुम्चिएका छन् । यीबाहेक बाँकी उपसमूहहरूको सूचक भने उकालो लागेका छन् । यस दिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड परेकोमा गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा एनएमबी इनर्जी ऋणपत्र परेको छ । तमोर हाइड्रोपावर कम्पनी लिमिटेड भने यस दिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको छ ।