काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता द्दवटा विषयगत समितिले पूर्णता पाइसकेका थिए । महासंघमा विभिन्न २५ वटा समितहरु रहेका छन् । पछिल्लो पटक महासंघका केन्द्रीय सदस्यहरु हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वको मेला समिति तथा संघर्ष विष्टको सभापतित्वको पर्यटन तथा हवाई यातायात समिति विस्तारसँगै महासंघअन्तर्गतका थप तीन समितिले पूर्णता पाएका हुन् ।
महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा महासंघका विभिन्न विषयगत समितिका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो । कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले महासंघका विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताहरू पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताए । उनले समितिहरूलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या तथा नीतिगत विषयमा गहन अध्ययन गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्न आग्रह गरे । समितिहरूलाई परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै उनले निजी क्षेत्रका साझा सवालमा महासंघको संस्थागत धारणा निर्माणमा समितिहरूको योगदान महत्वपूर्ण हुने बताए ।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार भएको बताए । उनले सम्बन्धित क्षेत्रका व्यवसायी तथा उद्यमीहरूका समस्या नजिकबाट बुझेर समाधानका लागि आवश्यक पहल गर्न समितिहरूलाई आग्रह गरे ।
महासंघका कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको सक्रियताले महासंघको संस्थागत क्षमता अझ बलियो बन्ने बताए । उनले विषयगत क्षेत्रमा देखिएका समस्या पहिचान गरी त्यसको समाधानका लागि निजी क्षेत्र, सरकार तथा सरोकारवाला निकायबीच समन्वय कायम गर्न समितिहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए । सो अवसरमा बैंक, वित्तीय तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि समिति सक्रिय रहने बताए । वित्तीय संस्थाहरूसँगको समन्वय बढाएर व्यवसाय विस्तार र लगानी प्रवर्द्धनमा जोड दिने उनले प्रतिबद्धता जनाए ।
व्यापार मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीहरूलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित समितिले काम गर्ने बताए । उनले मेलामार्फत स्वदेशी उत्पादनको प्रवद्र्धन, बजार विस्तार र व्यवसायीहरूबीचको सहकार्यलाई प्राथमिकता दिने उल्लेख गरे । पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायातको सहजता, गुणस्तरीय पर्यटक आकर्षण र निजी क्षेत्रको लगानी सुरक्षाका लागि समितिले निरन्तर पहल गर्ने बताए । सरकारसँगको समन्वयमा पर्यटन पूर्वाधार विकास र नीतिगत सुधारमा जोड दिने उनको भनाई थियो ।