काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अधिकारीले उक्त धरौटी रकम बुझाएर यस मुद्दामा रिहा हुन पाउने भए पनि अन्य मुद्दामा थुनामा रहेकाले तत्काल थुनामुक्त भने हुने छैनन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगका अनुसार ठेक्का सम्झौतामै ठेकेदार कम्पनीले राजस्व तिर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसविपरीत राजस्व छुट दिई राज्यलाई आर्थिक हानि पुर्याइएको आरोप छ।
यस प्रकरणमा अख्तियारले कुल ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ। राजस्व छुटसम्बन्धी यही मुद्दामा आरोपित अन्य व्यक्तिहरू भने यसअघि नै धरौटीमा छुटिसकेका छन्।