काठमाडौँ, भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छिन् । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नै पशुपतिनाथको पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने जानकारी गराएकी हुन् ।
पशुपतिनाथका कारण नेपाल भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको मुख्यमन्त्री गुप्ताले बताइन् । भेटका क्रममा दुवै देशको विकासमा युवाको सहकार्य, दुई देशबीचको आपसी सम्बन्ध विस्तारलगायत विषयमा कुराकानी भएको सांसद रानाले राससलाई जानकारी दिए ।
भारतस्थित नेपाली कांग्रेस निकटको जन सम्पर्क समितिको कार्यक्रममा गएका बेला सांसद राना नेतृत्वको समूहले दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री गुप्तालाई भेटेका हुन् । सो समूहमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी, कांग्रेस नेत्री सुनिता कुँवर, कांग्रेसका युवा नेताद्वय सुशान्त आचार्य र जीवन तिवारीलगायत छन् ।