काठमाडौं, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा स्थगित भएको छ । संस्थाका अनुसार वार्षिक साधारणसभाको लागि गणपुरक संख्या नपुगेका कारण १९औँ वार्षिक साधारणसभा स्थगित भएको हो ।
संस्थाले विभिन्न प्रस्ताव पारित गर्ने उद्देश्यले असार ३२ गते वार्षिक साधारणसभा आह्वान गरेको थियो । तर, कम्पनी ऐन, २०६३ को दफा ६७ तथा संस्थाको प्रबन्धपत्र र नियमावलीबमोजिम आवश्यक गणपूरक संख्या उपस्थित नभएकाले सभा सञ्चालन हुन नसकी स्थगित गरिएको संस्थाले जनाएको छ । यसबीच, सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले स्थगित साधारणसभा आगामी साउन १० गते बिहान ११ बजे भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस ब्यांक्वेटमा पुनः आयोजना गर्ने निर्णय गरेको जानकारी पनि संस्थाले दिएको छ ।
संस्थाका अनुसार पुनः बस्ने साधारणसभामा यसअघि प्रस्ताव गरिएका सबै एजेन्डा यथावत् प्रस्तुत गरिनेछन्। साथै, असार ३२ गतेका लागि विधिवत् दर्ता भएका सेयरधनी तथा प्रतिनिधिहरूलाई पुनः आयोजना हुने साधारणसभामा स्वतः मान्यता दिइने जनाइएको छ । संस्थाले सम्बन्धित सेयरधनी तथा प्रतिनिधिहरूलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित भई साधारणसभा सफल बनाउन आग्रह गरेको छ ।