काठमाडौं, नेपाल चेम्बर अफ कमर्सले संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायीलाई अपिल गरेको छ । चेम्बरले सोमबार विज्ञप्ति जारी गरी मर्यादित ढंगले व्यवसाय संचालन गर्न आग्रह गरेको हो । आगामी तीज, दशैँ, तिहार, छठ, नेपाल संवत्, रमजानलगायतका प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा माग बढ्ने भएकाले आवश्यक वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव तथा मूल्यवृद्धि नगर्न र उपभोक्ताको हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
हालैको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै यातायात, आपूर्ति प्रणाली, व्यापार–व्यवसाय र बजार व्यवस्थापनमा गम्भीर असर परेको चेम्बरले जनाएको छ । विशेषगरी उत्तरी रसुवागढी नाका प्रभावित हुँदा आयात–निर्यात तथा वस्तु आपूर्तिमा समेत अवरोध सिर्जना भएको अवस्थामा आगामी चाडपर्वलाई ध्यानमा राखेर बजारलाई सहज, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । उद्योगी, व्यवसायी, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यवसायीलाई आफ्नो व्यावसायिक गतिविधि जिम्मेवारीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै चेम्बरले अवरुद्ध राजमार्गका विकल्पमा वैकल्पिक आपूर्ति मार्गको प्रयोग, पर्याप्त भण्डारण तथा प्रभावकारी वितरण प्रणालीको व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिएको छ ।
आवश्यक वस्तुको आपूर्ति अवरुद्ध हुन नदिन निजी क्षेत्रले संयुक्त रूपमा पूर्वतयारी गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । विपद्को कठिन परिस्थितिमा व्यवसायीले नाफाभन्दा माथि उठेर सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने, सरकारले नियन्त्रणभन्दा माथि उठेर सहजीकरण गर्नुपर्ने र उपभोक्ताले अनावश्यक सञ्चय तथा त्रासबाट मुक्त भएर संयमता अपनाउनुपर्ने चेम्बरले उल्लेख गरेको छ । विपद्ले सिर्जना गरेको असहज अवस्थालाई कसैले पनि अनुचित व्यापारिक लाभ लिने माध्यम बनाउन नहुने चेम्बरको भनाइ छ ।