काठमाडौं, रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो संख्यामा घरधुरी र जनसंख्या प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकअनुसार रसुवा, नुवाकोट, धादिङ, गोखरा र चितवनका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र दुई लाख चार हजार छ सय एक जनसंख्या रहेको उल्लेख गरेको हो ।
बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार एक सय १० घरधुरीमा रहेका ६४ हजार तीन सय ३५ जना छन् । ‘प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार पाँच सय ७०, आठ हजार तीन सय १७ घरधुरी र ३२ हजार नौ सय ६३ जनसंख्या प्रभावित छन्, प्रभावित जनसंख्यामध्ये १६ हजार सात सय ६९ पुरुष र १६ हजार एक सय ९२ महिला छन्’, प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
कुन जिल्लामा कति प्रभावित ?
बाढीका कारण रसुवाका चार स्थानीय तहका १६ वटा वडा प्रभावित भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–१, २, ३, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त एक हजार तीन सय तीन घर÷भवनका एक हजार चारस य ४४ घरधुरीमा रहेका पाँच हजार सात सय ४३ मानिस प्रभावित भएका छन् ।
कालिका गाउँपालिका–१ प्रभावित भएको छ । उक्त पालिकामा क्षतिग्रस्त एक सय १४ भवनका एक सय १९ घरधुरीमा रहेका चार सय ९१ मानिस प्रभावित भएका छन् । आमाछोदिङ्मो गाउँपालिकाका–१, २, ४ र ५ प्रभावित भएका छन् । यहाँ बाढीका कारण क्षतिग्रस्त ७६ भवनका ७७ घरधुरीमा रहेका तीन सय १३ मानिस प्रभावित भएका छन् ।
उत्तरगया गाउँपालिका–१, २, ३, ४ र ५ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त छ सय ६५ भवनका छ सय ९६ घरधुरीमा रहेका दुई हजार सात सय १९ मानिस प्रभावित भएका छन् ।
नुवाकोट: नुवाकोटमा चार स्थानीय तहका २१ वटा वडा प्रभावित भएका छन् । बेलकोटगढी नगरपालिका–५, ७ र ८ प्रभावित भएका छन् । प्राधिकरणका अनुसार यहाँ बाढीका कारण क्षतिग्रस्त एक हजार ८३ भवनका एक हजार एक सय २७ घरधुरीमा रहेका चार हजार चार सय ८३ मानिस प्रभावित भएका छन् ।
विदुर नगरपालिका–१, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १२ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त यहाँका पाँच हजार २२८ भवनका पाँच हजार नौ सय २८ घरधुरीमा रहेका २३ हजार २३० मानिस प्रभावित भएका छन् । किस्पाङ गाउँपालिका–५ प्रभावित भएको छ । बाढीका कारण क्षतिग्रस्त यहाँका नौ सय छ भवनका नौ सय ३९ घरधुरीमा रहेका तीन हजार तीन सय ८२ मानिस प्रभावित भएका छन् ।
तारकेश्वर गाउँपालिका–२ र ४ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त यहाँका एक सय ७८ भवनका एक सय ८५ घरधुरीमा रहेका छ सय ६५ मानिस प्रभावित भएका छन् ।
धादिङ : धादिङ जिल्लामा चार स्थानीय तहका १९ वटा वडा प्रभावित भएका छन् । बेनीघाट रोराङ गाउँपालिका–३, ५, ७, ९ र १० प्रभावित भएका छन् । बाढीका कारण अनुमानित एक हजार सात सय २३ भवन क्षति भएको करिडोर तथा बफर क्षेत्रमा पर्छन् । जसमा रहेका एक हजार नौ सय पाँच घरधुरीमा आठ हजार ६८ मानिस प्रभावित भएका छन् ।
गजुरी गाउँपालिका–१, २, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रमा तीन सय ५३ भवन, तीन सय ९६ घरधुरी र एक हजार पाँच सय ८९ मानिस छन् । गल्छी गाउँपालिका–१, २, ४, ६ र ८ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको क्षेत्रमा सात सय ६६ भवन, आठ सय ४० घरधुरी र तीन हजार ३६३ मानिस छन् । सिद्धलेक गाउँपालिका–३, ४, ६ र ७ प्रभावित भएका छन् । क्षति पुगेको क्षेत्रमा अनुमानित सात सय ५८ भवन, सात सय ८१ घरधुरी र तीन हजार एक सय ७० मानिस छन् ।
गोरखा : गोरखाका दुई स्थानीय तहका १० वटा वडा प्रभावित भएका छन् । गण्डकी गाउँपालिका–१, २, ६, ७ र ८ प्रभावित भएका छन् । यहाँका क्षति पुगेको क्षेत्रमा पाँच सय ९३ भवन, छ सय १७ घरधुरी र दुई हजार चार सय ७८ मानिस छन् । सहिद लखन गाउँपालिका–३ र ४ प्रभावित भएका छन् । क्षति पुगेको क्षेत्रमा १३८ भवन, एक सय ४६ घरधुरी र पाँच सय ५१ मानिस छन् ।
चितवन : चितवनमा इच्छाकामना गाउँपालिका–३, ४, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित सात सय ९६ भवन छन् । जसमा नौ सय १० घरधुरी र चार हजार ९० मानिस प्रभावित भएका छन् ।