काठमाडौं, बुधबार नेपाल–चीन सीमानाको लेहेन्दे खोलाहुँदै भोटेकोशी नदी (त्रिशूली)मा आएको बाढीका कारण क्षति पुगेको राजमार्ग खुलाउन अझै केही दिन लाग्ने भएको छ । काठमाडौंसँग देशकै सम्पर्क हुने एक मात्र दुई लेनको राजमार्ग पृथ्वीराजमार्गको नौबिसे–मुग्लिन खण्ड खुलाउन सडक विभागले गरेको प्रयास बिहीबार पनि सफल हुन सकेन । यद्यपि प्रयास जारी रहेको विभागले जनाएको छ ।
नौबिसे–मुग्लिन सडकको त्रिशूली नदी किनारको होचो सडकमा नदीले बगाएर ल्याएको लेदो (बालुवा, ढुंगा, माटो) पन्छाउन समस्या परेको कारण राजमार्ग सञ्चालन गरेर काठमाडौंमा ग्यास, खाद्यान्न, पेट्रोलियम पदार्थ भित्र्याउन समस्या परिरहेको हो । बुधबार बिहानदेखि काठमाडौंमा ठूला सवारीसाधन चितवनदेखि आउन सकेको छैन । सडक सञ्चालनमा नआएपछि व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गर्ने र उपभोक्ताहरूले पनि अनावश्यक रूपमा सामान खरिद गर्न थाल्ने भएकाले सरकारले उक्त सडक खुलाउने कार्यलाई प्राथमिकतामा राखेको हो ।
पृथ्वी राजमार्गको उक्त नौबिसे–मुग्लिन सडक सञ्चालनमा नआएसम्म काठमाडौंमा खाद्यान्न, ग्यास, पेट्रोलियम पदार्थ, औषधि केही पनि भित्र्याउन सम्भव छैन । त्रिशूलीले ल्याएको लेदो पन्छाउन कठिन भएको कारण एकतर्फी पनि सडक खुलाउन नसकिएको सडक विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालले आर्थिक दैनिकलाई जानकारी दिए ।
‘लेदोमा पानीको मात्रा धेरै छ । बस्ती भएको ठाउँमा सोरेर नदीमा फाल्न पनि सकिँदैन भने पानीको मात्र धेरै भएकाले टिपरमा लोड गरेर फ्याँक्न पनि कठिनाइ नै छ’, उपमहानिर्देशक अर्यालले भने, ‘मेसिनहरू प्रयोग गरेर बिस्तारै लेदो पन्छाउने कार्य जारी छ । शुक्रबार पनि प्रयास गर्छौँ ।’ नौबिसे–मुग्लिन सडक एकतर्फी मात्र खुलाउन सकिए पनि ठूला मालबाहक ट्रक र बसहरू सञ्चालन गर्न सक्दा काठमाडौंमा खाद्यान्न, पेट्रोलिय पदार्थ, औषधिलगायतका वस्तुको अभाव रोक्न सकिन्थ्यो भन्ने योजनासाथ बाढी आएकै दिनको साँझदेखि सडक विभागले उक्त सडक खण्ड पन्छाउने प्रयास गरेको हो ।
तराईसँग काठमाडौंको सम्पर्क अन्य साना सकडबाट भए पनि खाद्यान्न, पेट्रोलियम पदार्थहरू भने नौबिसे–मुग्लिन सडकबाट ल्याउनुको अर्को विकल्प नभएको कारण सडक विभागले दिन÷रात प्रयास जारी राखेको हो । बिहीबार दिनभरको प्रयासमा गल्छी नजिकको महेशदोभान क्षेत्रमा भने सडकको लेदो पन्छाएर गाडी चल्न सक्ने अवस्था बनेको छ । यद्यपि त्रिशूली नदीमा बाढी आएमा फेरि डुब्ने खतरा भने छ ।
सरकारले पहिला पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खुलाएर मात्र धादिङ सदरमुकाम, नुवाकोट र रसुवा सदरमुकामलाई जोड्ने गाडी चल्ने बेलीब्रिजको व्यवस्था गर्न लागेको छ । यद्यपि बेलिब्रिज व्यवस्थापनको काम पनि अगाडि बढाइएको छ । ‘पहिला नौबिसे–मुग्लिन सडक खुलाएर मात्र बेलिब्रिज (पुल)का सामान बोकेर लैजान मिल्छ’, सडक विभागका एक सिडिईले भने, ‘पहिलो चरणमा धादिङ सदरमुकाम जोड्ने मलेखु, नुवाकोटको विदुर जोड्न देविघाटको तादी खोला र त्रिशूली बजार जोड्न डुंगेमा त्रिशूली नदीमाथि तथा रसुवा सदरमुकाम जोड्न बेत्रावतीको फलाँखु खोलमा बेलिब्रिज (मोटरेवल पुल) जडान गरिनेछ । त्यसपछि क्रमशः अन्य ठाउँमा बेलिब्रिज र सडक निर्माणको काम गरिनेछ ।’
अहिले काठमाडौंबाट नुवाकोट सदरमुकाम साना बस र साना भाडाका गाडी सामाखुसीचोकदेखि गुर्जे भन्ज्याङ हुँदै चले पनि खाद्यान्न, पेट्रोलिय पदार्थका गाडीहरू सहज रुपमा चल्न समस्या छ । गुर्जेदेखि छहरेसम्मको साँघुरो र घुम्ती सडक भएकाले समस्या छ । त्यही भएर गल्छीदेखि नुवाकोट–रसुवा जोड्ने सडक सञ्चालनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको हो । रसुवामा नुवाकोटबाहेक अन्य जिल्लाबाट मोटरबाटो जोडिँदैन ।
पृथ्वी राजमार्ग र काठमाडौंबाट तीनवटा जिल्ला सदरमुकाम धादिङबेसी, विदुर र धुन्चे जोड्न केही दिनको प्रयासमा सफलता मिले पनि नुवाकोट र रसुवाका आधा आधा भाग जोड्न थप बेलिब्रिज आवश्यक छ । त्रिशूली नदिका सबै पुल बाढीले बगाएको कारण ती दुई जिल्लाका आधा÷आधा भूभाग जिल्ला सदरमुकामसँग विच्छेद भएका छन् । बगाएको सडक र बेलिब्रिज जोडेर अस्थायी रुपमा सडक खुलान अझै महिनौ लाग्ने देखिन्छ । बेलीब्रिज जोड्न नसके नुवाकोटमा स्कुल र कलेज नै प्रभावित हुने छन् । त्यहाँ त्रिशूली नदीका सबै पुल बगेको कारण विद्यार्थी आवतजावतमा समस्या छ ।
केही बेलिब्रिज स्टक भए पनि पर्याप्त नभएको कारण सरकारले भारतलगायतका अन्य देशसँग सहयोग माग गरेको छ । विद्यालय, कलेज र अस्पतालको कारण अहिले पुल बगेका सबै ठाउँमा बेलिब्रिज हाल्नैपर्ने अवस्था छ । बेलिब्रिज नभएमा एउटै वडामा समेत कनेक्सन टुट्ने देखिन्छ ।
रसुवामा मात्र करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडकको कुनै अस्तित्व छैन । गल्छीदेखि देविघाट हुँदै त्रिशूलीसम्मको सडकसमेत बन्द छ । देविघाटको तादी खोलको दुईवटै पुल बाढीले लगेको छ । बाढीका कारण ४१ वटा पुल बगाएको सरकारी तथ्यांक छ ।