काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा यो सहयोग घोषणा गरेको हो । यस दुःखद् घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति एनसेल हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
साथै, हराइरहेका तथा प्रभावितहरूको शीघ्र उद्धार तथा राहत व्यवस्थापनको कामना गरेको छ । एनसेलले विपद्को यस कठिन समयमा प्रभावित समुदायलाई सञ्चार सेवामार्फत पनि सहयोग गर्दै आएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई बुधबारदेखि नै लागू हुने गरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस ३ दिनका लागि निःशुल्क उपलब्ध गराएको जनाएको छ । यस पहलले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीहरूसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ । एनसेलले विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्दै आएको छ ।