काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।
बैकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा बिहीबार आयोजित कार्यक्रममा समझदारी–पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि तलबी बचत खाता तथा ‘पेशाकर्मी सरल कर्जा’ सञ्चालन गर्नेछ।
साथै, संस्थानका कर्मचारीलाई सहुलियत दरमा विभिन्न बैंकिङ सेवा तथा सुविधासमेत उपलब्ध गराइने बैंकले जनाएको छ । यो समझदारीबाट सांस्कृतिक संस्थानका कर्मचारीले बैंकिङ सेवा तथा कर्जा सुविधामा सहज पहुँच प्राप्त गर्ने अपेक्षा गरिएको छ । साथै, संस्थानका कर्मचारीसँगको सहकार्य विस्तारसँगै बैंकको व्यवसाय विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
समझदारी–पत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय विनय रमण पौडेल र पवन रेग्मी, उप–कार्यकारी अधिकृतहरू दुर्गा कुमारी कंडेल, राम कुमार थापा र निम्बल श्रेष्ठ, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख ध्रुव प्रसाद अर्याललगायतको उपस्थिति थियो । त्यस्तै, सांस्कृतिक संस्थानका प्रशासकीय अधिकृत सुदर्शन थापा, लेखा अधिकृत प्रेमध्वज जीसीलगायतका कर्मचारीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
विसं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गरेको छ । बैंकका अनुसार हाल ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप तथा कर्जासहित एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।