काठमाडौं, राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी सङ्घ–संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद् प्रभावित सहकारी संस्थाहरूलाई सहयोग गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार विपद्का कारण सहकारी सङ्घ–संस्थाका अभिलेख, प्रविधिगत सामग्री तथा भौतिक पूर्वाधारमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै विनियोजन गरिएको २० लाख रुपैयाँ सम्बन्धित जिल्ला सहकारी सङ्घहरूसँगको समन्वय तथा बैंकको सञ्चालक समितिबाट स्वीकृत मापदण्डबमोजिम वितरण गरिनेछ ।
यसैगरी, बाढीपहिरोबाट बैंकको नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको तथा केही कर्मचारीका आफन्तजन अझै सम्पर्कविहीन रहेको अवस्थामा बैंकका कर्मचारीहरूले स्वःस्फूर्त रूपमा छ लाख चार हजार पाँच सय ३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन् । संकलित रकमबाट प्रभावित तीन जना कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले समेत एक दिन बराबरको बैठक भत्ता योगदान गर्ने भएका छन् । यस्तै, सञ्चालक समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने भएको छ ।
बैंकले विपद्मा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवी संस्था तथा अन्य सरोकारवाला निकायको भूमिकाको प्रशंसा गर्दै बैंकले प्रभावित नागरिकहरूको सुरक्षित उद्धार, अस्थायी आवास, खाद्यान्न, खानेपानी तथा स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकता शीघ्र सुनिश्चित गर्न आग्रह गरेको छ ।
सहकारी अभियानको साझा अभिभावक तथा सहकारी क्षेत्रको अग्रणी वित्तीय संस्थाका रूपमा बैंकले प्रभावित सहकारी संस्थाहरूको पुनःस्थापना, सेवा प्रवाहको निरन्तरता तथा संस्थागत सुदृढीकरणका लागि आवश्यक वित्तीय, प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।