विराटनगर, विराटनगर भन्सार कार्यालयमा जाँचपासका क्रममा फेला परेको एउटा प्लास्टिकको बन्दुक विराटनगर भन्सारले आवश्यक कारबाहीका लागि मोरङ प्रहरीलाई बुझाएको छ ।
केटाकेटीका लागि खेलाउनाका रुपमा प्रयोग हुने भन्दै प्लास्टिक गन भनी भन्सार प्रज्ञापनपत्रमा उल्लेखै गरेर भन्सारमा जाँचपासका लागि आए पनि विराटनगर भन्सारले प्रहरीलाई बुझाएको हो । प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले उक्त खेलाउना प्रहरीलाई जिम्मा लगाएको जानकारी दिए । मोरङ प्रहरीले पनि आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
भन्सारस्रोतका अनुसार यो खेलौनाको विषय सामान्य नै भए पनि खेलौनामा चेतावनीपूर्ण विवरणमा उल्लेख भएकोले प्रहरीलाई जिम्मा लगाइएको हो । उक्त खेलौना बन्दुकमा लोड भएको गोलीले लागेमा मान्छेको मृत्यु हुनसक्ने उल्लेख भएका कारणभन्सार जाँचपास नगरी मोरङ प्रहरीलाई बुझाएको कुरा बताइएको छ । त्यसपछि भन्सारमा उक्त खेलौनाको भन्सार जाँचपास कसरी गर्ने भन्ने प्रश्न सिर्जना भएको छ ।

विराटनगर भन्सारका भन्सार एजेन्ट लिलाप्रसाद नेपालको क्लियरिङ्ग एजेन्ट नम्बर ५ सय ५९ बाट मालवस्तु जाँचपास हुने अन्य सामानसहित प्लाष्टिक गनको समेत फारम भरिएको थियो । विराटनगर भन्सारका भन्सार जाँचकी प्रविन लिम्बुले प्लास्टिक गन के गर्ने भनेर भन्सार अधिकृत भीम आङदम्बे लिम्बुसँग परामर्स गरेका थिए । उक्त सामान जाँचपास गर्न मिल्छ कि मिल्दैन भनेर भन्सार कार्यालयले सुरक्षा निकायसँग राय मागेको थियो ।
मोरङ प्रहरीले पनि उक्त खेलौना जस्तो देखिने प्लस्टिक गन कुन प्रयोजनका लागि भित्र्याइएको हो भन्ने अनुसन्धान थालेको जनाएको छ । नयाँ गेमिङ्ग टुल्र्स जस्तो भएको पब्जि, पेन्ट गन वा एयर गन जस्तै भएपनि त्यसमा प्लास्टिकको गोली राख्न सकिने रहेको स्रोतले बताएको छ । आयातकर्ता काठमाडौंका व्यापारी रहेका छन भने प्रहरी स्रोतले यस्तो वस्तु आयात गर्न नमिल्ने जानकारी दिएको छ ।