काठमाडौं, सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको बीमा प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन व्यापक सुधारको योजना अघि सारेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावलीअनुसार श्रमिकको सुरक्षा तथा बीमा सेवामा सुधार गर्न विभिन्न निर्णयहरू गरेको जनाएको छ । मन्त्रालयका अनुसार अब वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएको अवस्थामा बीमा दाबी प्रक्रियालाई सहज बनाउन पीडित परिवारको घरमै पुगेर सहजीकरण गर्ने व्यवस्था लागू गरिनेछ । यसका लागि नेपाल बीमा प्राधिकरणसँग आवश्यक समन्वय गरी कार्यान्वयन अघि बढाइने मन्त्रालयले जनाएको छ ।
बीमा दाबी भुक्तानी प्रक्रियालाई थप पारदर्शी बनाउन हकवालाको बैंक खातामै सिधै रकम जम्मा हुने व्यवस्था गरिने मन्त्रालयको तयारी छ । मोबाइल बैंकिङ तथा अन्य विद्युतीय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे)मार्फत भुक्तानी गर्ने प्रणाली विकास गरिने मन्त्रालयले जनाएको छ । सेवा प्रवाहलाई छिटो र सहज बनाउन वैदेशिक रोजगार बोर्ड र नेपाल बिमा प्राधिकरणको डिजिटल प्रणालीबीच एपीआईमार्फत अन्तर–आबद्धता गरिने भएको छ । साथै, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणाली र वैदेशिक रोजगारसम्बन्धी सूचना प्रणालीबीच समन्वयात्मक पहुँच विस्तार गरी सूचना प्रणाली एकीकृत गर्ने निर्णय पनि गरिएको छ ।
मन्त्रालयले श्रमिकको बिमा सुरक्षाको दायरा विस्तार गर्न मन्त्रालयका उपसचिवको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरेको छ । समितिले हालको बीमा तथा दाबी भुक्तानी प्रणालीको समीक्षा, अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन, बीमाको दायरा विस्तार गर्दा प्रिमियममा पर्ने प्रभावको विश्लेषण तथा श्रमिकमैत्री सुधारका उपायसहित प्रतिवेदन पेश गर्नेछ । बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्न श्रमिकका परिवार र स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गरी बिमा साक्षरता कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । यसका लागि नेपाल बीमा प्राधिकरण, बिमा कम्पनीहरू र मन्त्रालयअन्तर्गतका निकायहरूले संयुक्त रूपमा अभियान सञ्चालन गर्नेछन् ।