काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१० बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी, काठमाडौं कागेश्वरी मनोहरा नगरइपालिका–९ बस्ने सिन्धुली घर भएकी २८ वर्षीया करिना देवकोटा, काठमाडौं महानगरपालिका–३ बस्ने झापा घर भएका २७ वर्षीय साजन खनाल, भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने दोलखा घर भएका ३४ वर्षीय पेमा लामा र काठमाडौं महानगरपालिका–१५ बस्ने ओखलढुंगा घर भएकी २७ वर्षीया तोम कुमारी थापा रहेका छन् ।
पक्राउमध्ये सुष्माले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ, करिनाले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, साजनले फिनल्यान्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, पेमाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र तोमकुमारीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुष्मालाई काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१० बाट शुक्रबार, करिना र साजनलाई काठमाडौं महानगरपालिका–३ बाट आइतबार तथा पेमालाई काठमाडौं महानगरपालिका–१२ बाट र तोमकुमारीलाई काठमाडौं महानगरपालिका–१५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।