काठमाडौं, लाजिम्पाटस्थित ‘रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड’का पूर्वअध्यक्ष आङ बाबु राईविरुद्ध नेपाल बार काउन्सिलमा उजुरी दर्ता भएको छ । सहकारीको करोडौँ रकम हिनामिना गरेको, संस्थाको जिन्सी सामग्री र सवारीसाधन बेपत्ता पारेको तथा प्रमाण लुकाउन आफ्नो कानुनी पेसाको दुरुपयोग गरेको आरोप लगाउँदै पीडित बचतकर्ताहरूले उनको अधिवक्ता प्रमाणपत्र (लाइसेन्स) खारेजीको माग गरेका हुन् ।
पीडितहरूका तर्फबाट इन्द्र कुमार राई र बिब बहादुर राईले बार काउन्सिलमा दिएको उजुरीअनुसार, अधिवक्ता राईमाथि करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा (नम्बर ०८१–सीपी–१०४२) विचाराधीन छ । तत्कालीन अध्यक्ष राईले ठगी गरेको भन्दै सहकारीले सहकारी विभागमा दिएको उजुरीअनुसार संस्थाको २२ लाखबराबरको जिन्सी सामान र सवारीसाधनहरू रातारात बेपत्ता पारेको बताइएको छ । राईले बेपत्ता पारिएका सामग्रीहरूको सूचीमा आठवटा कम्प्युटर, एउटा ल्यापटप, पाँचवटा दराज, १२ वटा टेबल, १५ वटा कुर्सी, दुईवटा प्रिन्टर, पाँचवटा मोटरसाइकल, ग्यासचुलो, कार्पेट र किचनका भाडाकुँडा समेत रहेका छन् ।
विभागमा परेको उजुरीमा राईले सहकारीको महत्वपूर्ण दस्ताबेजहरू लेजर, सफ्टवेयर ब्याकअप, चेक बुक, पासबुक र सेयर लगत समेत उनले आफ्नो कानुनी च्याम्बरमा लुकाएर राखेको र प्रमाण नष्ट गर्न खोजेको आरोप लगाइएको छ ।कानुन व्यवसायी समेत रहेका राईले कानुन व्यवसायीको आचारसंहिताविपरीत सहकारीको अध्यक्ष हुँदा गम्भीर आर्थिक अपराध र फौजदारी कार्यमा संलग्न भएको भन्दै पीडितहरूले कानुन व्यवसायी प्रमाणपत्र तत्काल निलम्बन गरी अनुशासनको कारबाही गर्न नेपाल बार काउन्सिल र नेपाल कानुन व्यवसायी परिषद्समक्ष माग गरेका छन् ।
‘कानुनको रक्षक हुनुपर्ने व्यक्ति नै सहकारी ठगीजस्तो जघन्य अपराधमा संलग्न भई प्रमाण लुकाउन सक्रिय हुनुले सिंगो न्याय प्रणालीकै अपमान भएको छ’, उजुरीमा भनिएको छ ।सहकारीले यसअघि नै सहकारी विभाग र प्रहरी वृत्त लैनचौरमा समेत राईलाई पक्राउ गरी कारबाही गर्न र संस्थाको सामग्री फिर्ता गराउन निवेदन दिइसकेको छ । पछिल्लो समय उनले नक्कली बचतकर्ता खडा गरी सहकारीको ऋण नतिर्ने प्रपञ्च समेत गरिरहेको सहकारी संस्थाका वर्तमान अध्यक्ष इन्द्र कुमार राईले बताएका छन् ।