खासगरी नेपालमा विहारी चरित्र प्रवृत्तिको बहुदलीय राजनीतिक प्रणाली भित्रिए (०४६ साल) यता थोपरिएका बौद्धिक वर्ग (भिसीका दावेदार चार हजार रहेका एउटा लिस्ट) र १२ भाइ प्रवृत्ति चरित्रको पत्रकारिता जगतबीच जोडिएको नाभी बारे यसै स्तम्भको वर्ष १ अंक ११ गत आइतबार पनि अलिकति तथ्य पाठ्यक्रममा ल्याएको थिएँ । दलीय नेताहरूका चेहरा चिनारी बारेमा (पोस्टर) त शेरबहादुर देउवा, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाल, डा. बाबुराम भट्टराइ आदि इत्यादि ५ पटक, ३ पटक लगायत प्रधानमन्त्री भएका पूर्वहरूको नाम गुगलमा एक बटन थिच्नासाथ नाभीदेखि आन्द्राभूँडीसम्म साङ्गोपाङ्गो सबै छर्लङ्ग भइहाल्छ ।
मैले आफैँ नै गुगलमा दर्ता गराएको एउटा पाठ्यक्रमबाट पनि यस कालखण्ड (प्रचण्ड प्रधानमन्त्री भए यता)का दलीय नेतृत्वका न्वारान देखिका सबै कुण्डली ऐनामा जस्तै सबै छर्लङ्ग हुन्छ । त्यो पाठ्यक्रम घटेको समय प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्रीको पनि कार्यकारी भूमिकामा आउनु अघि खोज्दा महिना गते बार पनि भेटिन्छ । फ्रान्स क्रान्तिका जनक मान्टेष्कुद्वारा प्रतिपादित संसारव्यापी स्थापित ‘शक्ति पृथकीकरणको सिद्धान्त’को ढाड भाँच्न सफल भएकोमा जुँगा मुसार्दै गरेका प्रचण्डलाई जेनजी पुस्ताले भेउ पाउन अल्छि गरेका भए पनि इतिहासले त मूल्य चुकाइहाल्छ । त्यही प्रचण्डको जुँगा मुसुराइ भन्दा डेढ महिना जति अघिको कुरो हो ।
नेपाली जनताको रगत र पसिनाबाट आर्जित राष्ट्रिय ढुकुटीबाट खर्बौं धनराशी लगानी भएर खडा भएको पहिलो ‘संविधान सभा’को म्याद ‘नयाँ संविधान’ नल्याइ समाप्त भयो । ६०१ सभासदले चार वर्ष सिन्को नभाँची भूँडी पल्टाएर खर्बौं राष्ट्रिय ढुकुटी रित्याइ डकारे । अर्को खर्बौं राष्ट्रिय ढुकुटी रित्याएर दोस्रो संविधान सभा चुनाव गर्ने भए । त्यस बखतसम्म माओवादीका दुई जना प्रचण्ड र बाबुराम एमालेका दुई जना माधव नेपाल र झलनाथ प्रधानमन्त्री भइसकेका थिए । अब पालो कांग्रेसका शुशील कोइरालाको थियो । शुशील कोइरालालाई प्रधानमन्त्री बन्न नदिने तानावाना मिलाउने क्रममा भारतका तत्कालीन विदेशमन्त्री सलमान खुर्सिद नेपाल आएर होटल द्वारिकाजमा बसेका थिए ।
संयोगले लुम्बिनी दर्शन गर्न आएकी म्यान्मारकी नोबेल पुरस्कार प्राप्त मानव अधिकारवादी नेतृ आङ् साङ् सुकीको वास पनि द्वारिकाजमै परेछ । खुर्सिदलाई भेट्न कांग्रेस, एमाले, माओवादी, मधेशवादी दलहरूका नेताहरूको रिक्रुट शैलीको लामो लाइन देखेर छक्क परिछिन् । उनले लुम्बिनी प्रस्थान गर्नुअघि एयरपोर्टमा देशी विदेशी पत्रकारहरूलाई दिएकी जवाफ नेपालको हकमा लाजमर्दो धिक्कारको छ । सुकी भनिरहेकी थिइन्– ‘म विश्वका धेरै मुलुक पुगेकी छु । भूतपूर्व प्रधानमन्त्रीहरूको त्यत्रो लामो लाइन चाहिं नेपालमा पहिलो पटक देख्न पाएँ ।’ सुकीको यस भनाइबाट नेपालका प्रधानमन्त्रीहरू भारतको जागिरे हाजिरका रूपमा काम गर्थे भन्ने भावी पुस्तालाई पुष्टी प्रमाणित पाठ्यक्रम उपलब्ध भएको छ । यसैलाई मैले दलीय नेतृत्वगणको आन्द्राभूँडीसमेत देखिएको ‘नाभी’ संज्ञा दिएको हुँ ।
बौद्धिक नेतृत्वको चिनारी भाइरल गर्ने सिक्काको अर्को पाटो पत्रकारिता जगत बारेमा त पंक्तिकार स्वयं पनि २५ वर्ष सक्रिय संलग्न रहेको अहिले पनि कसैले ‘वरिष्ठ पत्रकारजी’ सम्बोधन गर्दा जिस्काएको गाली गरेको जस्तो अनुभव हुन्छ । ‘पत्रकारितामा युनियनबाजी भुक्न र टोक्न मात्र हो’ भन्ने धारणा लिएका कारण ‘नेपाल पत्रकार महासंघ’ सँग मेरो सम्बन्ध नजाने ठाउँको बाटो नसोध्नु जस्तै रह्यो । तथापि किशोर नेपाल, हरिहर विरही यताका जति पनि महासंघका अध्यक्ष भए सबैका नाभी आन्द्राभूँडी कुण्डली रूपचन्द्र विष्टको भाषामा ‘थाहा’ राखेको छु । आफ्नो चारपाते पत्रिकालाई २००।– विज्ञापन खोज्दै हिँड्ने एउटा पत्रकार गिरिजाको टनकपुर राष्ट्रघातमा मतियार भएकै नाताले कसरी रातारात राजधानीमा महल घर घडेरी करोडौंको मालिक हुन पुग्यो ? आफ्नै अगाडि देखेको छु, भेटेको छु । कांग्रेसका खुमबहादुर खड्का र एमालेका वामदेव गौतमको तजविजी (दुवै गृहमन्त्री हुँदा) सुन तस्करीमा पहरेदारी ज्यालादारीले अघिल्लो दिन कुचुक्क डेराको बास रातारात जलेको देउवा निवास शैलीको महलवास । पजेरो व्यापार मालिक भएर वरिष्ठ पत्रकारको पगरी गुथेर हाल सम्म १२ भाइलाई उपदेश प्रवचन गरिरहेका पनि देखिरहेको छु ।
यस्ता वरिष्ठ पत्रकार हुँदै १२ भाइ जमातका शिरोमणि राजनीतिक विश्लेषक बनेकाहरूले बालेन शाहको सातो लिइरहेको पाउँदा हरे के देख्नु परेको जस्तो पनि मनमा भावना आउँछ । ऋषि धमलादेखि किशोर श्रेष्ठ, देवप्रकाश त्रिपाठी, विजयकुमार पाण्डेसम्म यतातिर झुल्केका राजेन्द्र वानियाँ, जीवराम भण्डारी, टीकाराम यात्री, सुधिर शर्मा, उमेश सुवेदी आदि इत्यादि एउटा ठूलो जमात दिन रात मिहिनेत गरेर मिडिया चलाइ रहेका देखिए भेटिए पनि अझै पनि दिक्दारिको विषय यथावत् रहेको पाइनु निराशा कै अध्याय हो ।
प्रतिक उदाहरणमा पत्रकार राजेन्द्र वानियाँले सामयिक राजनीतिक अप्ठ्यारोबाट पार पाउन उपाय खोज्दै एमालेकी पूर्व सांसद मन्त्री (गिरिबन्धु टिस्टेट) पद्मा अर्यालसँग अन्तरवार्ता लिँदै गरेका भेटिनु अलिकति हाँस उठे पनि पेट पूजा ठानेर नदेखे जस्तो गरिदिँदा केही थिएन । तर राजेन्द्र बानियाँ जतिकै सेलिब्रिटीमा ऋषि धमलालाई उछिनेका जीवराम भण्डारीले सुनसरीको साम्प्रदायिक दङ्गा डढेलो शैलीमा अन्यत्र फैलिइरहेकोमा कारण र निदानको उपाय खोज्न माकुने पार्टीकी पोस्टर रामकुमारी झाँक्री (विचरी)सँग अन्तरवार्ता लिइरहेका देख्दा भेट्दा भने हाँस उठ्नु मात्र नभएर दिक्दारीकै विषय हुन जान्छ । पाक्न लागेको फल कुहेको पाइए जस्तो । राजनीति भनेको जसरी भए पनि सत्तामा पुगेर सम्पत्ति थुपार्नु, मोज मस्ती गर्नु हो भन्ने देउवा ओली प्रचण्ड माकुने आदि इत्यादिले स्थापित गरेका शास्त्र भाष्यबाट उत्पादित रामकुमारी झाँक्री जस्ता सोच समझ नियत राख्ने हजार दुई हजार कति भूतपूर्व मन्त्रीहरू छन्, तिनीहरूबाट हिन्दु–मुस्लिम साम्प्रदायिक दङ्गाका कारण निदान उपायका अपेक्षा राख्नु अझै नेपाली पत्रकारिता कविलायी चेत दास मानसिकताबाट माथि उठ्न नसकेको टड्कारो दशी प्रमाण हो ।
हाम्रो भेग भारत वर्षमा पहिलो पटक हिन्दु मुस्लिम दङ्गाको विकराल रूप देखिएको भारत पाकिस्तान विभाजनका बखत हो । यस अर्थमा के भन्न सकिन्छ भने, हाम्रो विशाल छिमेकी भारतको स्वतन्त्रता दिवस (सन् १९४७) हिन्दु मुस्लिम दङ्गाको जगमा उभिएको छ । भारतका राष्ट्रपिता महात्मा गान्धीले त्यो जग भत्काएर हिन्दु–मुस्लिम भाइ भाइको जगमा स्वतन्त्र भारतलाई उभ्याउन खोज्दा दिन दहाडै खुला चौकमा गोली ठोकेर हत्या गरियो । परिणाम भारतमा लोकतन्त्र नामको लुटतन्त्रको राजनीतिक रोटी सेक्न हिन्दु मुस्लिम दङ्गा स्वाभाविक प्राकृतिक हुन पुग्यो । तर नेपाल बेलायत शासित हुनु नपरेका कारण त्यस खालको टाउको दुखाइ कहिल्यै थिएन र भोलि पनि रहने छैन । तर पनि विशाल भारतसँग खुला सीमा रहेका कारण त्यहाँको टाउको दुखाइ यदाकदा नेपालमा पनि प्रवेश गर्नेमा अस्वाभाविक ठान्नु हुन्न ।
नेपालमा हिन्दु–मुस्लिम द्वन्द्व साम्प्रदायिक दङ्गाको पहिलो प्रवेश विसं. २०२८ सालमा रौतहटमा भएको थियो । ०७ साल फागुन ७ गते प्रवेश गरेको ‘भारततन्त्र’ले नेपालका चीन सीमाक्षेत्रको १८ ठाउँमा भारतीय सैनिक क्याम्प गाडेर चीन तिर बन्दुक तेस्र्याइ परेड खेल्दथे । त्यसलाई माओत्सेतुङले राजा महेन्द्रलाई भनिदिए ‘नेपाल भारतको एउटा प्रान्त हो’ । माओत्सेतुङको भनाइको महेन्द्रसँग कुनै जवाफ थिएन । यो विसं. २०२४ साल राजा महेन्द्र कोदारी राजमार्ग नेपाल भित्र्याउन (अरनिको राजमार्ग) चीन गएको बखतको कुरो (इतिहास) हो । कोदारी राजमार्ग लिएर चीनबाट फर्केपछि महेन्द्रले पहिलो काम विगत ८ वर्षदेखि कारागार जीवन झेली रहेका बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराइलगायत जन नेतृत्वगणलाई रिहाइ गरिदिए ।
सूर्यबहादुर थापाले लखेटेर गिरिजाले बुद्धि नपुर्याएर बीपी ८ वर्ष भारत निर्वासनमा जानु परेको त्यस यताका भिसीका दावेदार शैक्षिक पाठ्यक्रम निर्माता प्रा.डा. जगतको थेसिस प्रायोजित ‘भारततन्त्र’ अनुकूल हो भन्नु बाहेकका थप पाठ्यक्रम यस अघि नै भाष्य भइसकेको हुनाले यहाँ दोहो¥याउँदिन । त्यसपछि महेन्द्रले दोस्रो काम विसं. २०२७ साल नेपालका छातिमा गाडिएका भारतीय सैनिक पोस्ट उखेलिइ दिए । या भनौँ विसं. २००८ बाट ०२७ साल लगातार १९ वर्ष भारतीय सेनाको सिक्रीले बाँधीएर तड्पिरहेको नेपालको सार्वभौमिकताले खुला आकाशमा सास लिन पायो । त्यसबाट भारत रिसले आगबगुला भएर रौतहटमा एउटा डरलाग्दो किसिम (एक अर्कालाई जिउँदै जलाउने)को हिन्दु मुस्लिम साम्प्रदायिक दङ्गा भड्केको थियो । त्यो दङ्गाकै कारण राजा महेन्द्रलाई अलिकति हृदयघातको धक्का महशुस भएको कतिपय महेन्द्रका जीवनीकारहरूले उल्लेख गरेका छन् । खैर जे होस् दङ्गा शान्त पार्न प्रशासनिक दक्षता यति छिटो गतिमा काम भयो कि मात्र २१ दिनको अन्तरालमा एक अर्कालाई जिउँदै जलाउन उकासिएका हिन्दु–मुस्लिम छाति टाँसेर गला मिलाइ खुसीको आँशु झारिरहेका भेटिए ।
नेपालको यो सनातन सौहार्दता जातभात क्षेत्र धर्मबाट माथि उठेको ‘वसुधैव कुटुम्बकम्’ चेतना धारा विगत पाँच हजार वर्षदेखि बगिरहेको र आउने पाँच हजार वर्षसम्म पनि बगिरहने हाम्रो स्वाभाविक प्रकृति हो । यसरी देश समाप्त हुने अराजकताको उग्र रूप साम्प्रदायिक दङ्गा नेपालमा हुर्किन हिजोसम्म असम्भव जस्तै भएर नै कालक्रममा नाकाबन्दीको हतियार प्रयोग हुन थालेको हो । अहिलेसम्म चार पटक । भारत (सोनिया गान्धी)को १८ महिने नाकाबन्दीकै कारण ०४६को विहारी प्रजातन्त्र भित्रिएर गिरिजा, प्रचण्ड, ओली जस्ता देश बेच्ने जनता लुट्ने नेता झेल्नु भोग्नु परेको दशी, प्रमाण, साक्षी बालेन भइहाले ।
महाभारत कथामा यक्ष (धर्मराज) प्रश्नको एउटा प्रसङ्ग आउँछ । ‘कुनै पनि मुलुक कति खेर समाप्त हुन्छ ?’ भन्ने यक्ष प्रश्नमा युधिष्ठिरले उत्तर दिन्छन् ‘जति खेर अराजकताले सीमा पार गर्छ ।’ २१औँ शताब्दीका नेपाल जस्ता मुलुकमा अराजकताले सीमा पार गर्नु भनेको आर्थिक रूपले टाट पल्टिएर क्षेत्रीय, जातिय, धार्मिक द्वन्द्वले साम्प्रदायिक रूप लिनु हो । पछिल्लो सुनसरीमा प्रकट भएको साम्प्रदायिक दङ्गाले जनकपुर, विरगञ्ज, लाहान, नवलपरासी हुँदै नेपालगञ्ज कैलालीसम्म फैलिने छाँटकाँट देखिँदा कतै अब नेपाल सक्न समय आइपुगेको पश्चिमी दक्षिणी परचक्री ठम्याइ त होइन ? देश, जनता, प्रणालीकै अगाडि यक्ष प्रश्न उपस्थित भएको छ । नफुटाइ र नजुधाइ अराजकता फैलाउन असम्भव भएकाले नै त्यसका लागि पहिलो काम विसं. २०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहण (हत्या) लगत्तै ‘नयाँ शिक्षा नीति’ लादेर सनातन नेपाली चेतनाको बन्ध्याकरण गरियो । बहुराष्ट्रिय कम्पनीका रोबोट मात्र उत्पादन गर्ने शिक्षाको व्यापार फस्टाइयो । राष्ट्रिय एकताका प्रतिक राजसंस्था मासेर क्षेत्रीय, जातिय, धार्मिक द्वन्द्वलाई संस्थागत गर्ने ०७२ को संविधान लादियो ।
यहाँनेरि आइपुगे पछि नेपालमा जातीय, क्षेत्रीय, धार्मिक द्वन्द्वलाई साम्प्रदायिक रूप दिन खोज्ने पक्ष विपक्ष छुट्याउन अब कुनै गाह्रो छैन । जो जो व्यक्ति समूह दलहरू ०७२को संविधानको रक्षा र संवर्धनको वकालत गरिरहेका भेटिन्छन् तिनीहरू सबै एदेखि जेड्सम्म साम्प्रदायिक दङ्गा फैलाउने पक्ष हुन् भनेर बुझ्न कुनै कठिनाइ हुने छैन । बादल हटेको मध्यान्हको घाम र पूर्णिमाको जून जत्तिकै सबै छर्लङ्ग देख्न र बुझ्न सकिन्छ । सनातन नेपाली चेतनाको बन्ध्याकरण भएर बहुराष्ट्रिय कम्पनीका रोबोट भएर हुर्किएका बौद्धिक वर्ग प्रा.डा. पत्रकार जगतले पेट पूजाको रोइलो गर्नुको कुनै अर्थ र मूल्य हुन्न । अस्तु ।