सुनसरी जिल्लाको देवानगञ्जमा धार्मिक कार्यक्रमका क्रममा सुरु भएको विवादले हिंसात्मक रूप लिँदा सीरहाको गोलबजारसम्म तनाव फैलियो । घटनामा ३ जनाको ज्यान गयो, दुई दर्जनभन्दा बढी घाइते भए र प्रशासनले कर्फ्यु लगाउन बाध्य भयो । डीजेमा धार्मिक गाना बजाउने विषयले तात्कालिक तनाव सिर्जना गरे पनि यसको जरा सतहमा सीमित छैन । यसले पुराना अविश्वास, सामाजिक ध्रुवीकरण र राज्यको कमजोर उपस्थितिजस्ता गहिरा संरचनात्मक समस्यालाई उजागर गरेको छ । यो घटना कुनै एक समुदायको असुरक्षाको प्रतिबिम्ब मात्र होइन, समग्र नेपाली समाजका सामु देखिएको बहुआयामिक चुनौतीको स्पष्ट संकेत हो ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधताको धनी देश हो । हिन्दू, मुस्लिम, बौद्ध, किरात, सिख, इसाइलगायतका समुदाय शताब्दीयौंदेखि आपसी सहिष्णुता र सहअस्तित्वमा बाँचिरहेका छन् । तर पछिल्लो एक दशकमा देवानगञ्ज, धनुषा, सर्लाही, नेपालगञ्ज, विराटनगरलगायतका स्थानमा बारम्बार साम्प्रदायिक तनाव भड्किएको चिन्ताजनक प्रवृत्तिले यो कुनै आकस्मिक घटना नभई राष्ट्रिय सामाजिक सद्भावसँग प्रत्यक्ष जोडिएको गम्भीर रणनीतिक विषय हो भन्ने देखाउँछ ।सीरहा–सुनसरीजस्ता घटनाको मूलमा एउटा मात्र कारण छैन । राजनीतिक दुरुपयोग र धु्रवीकरण—आर्थिक विकास, रोजगारी र सुशासनमा अपेक्षित उपलब्धि दिन नसकेका ताकतहरूले पहिचान, संस्कृति र धर्मका मुद्दाहरूलाई साधन बनाउने प्रवृत्ति यसको पहिलो कारण हो । यसले समुदायबीचको विभाजनलाई संस्थागत बनाउँछ ।
सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग अर्को कारण हो— फेसबुक, टिकटक, युट्युब, ह्वाट्सएपमा अपुष्ट, उत्तेजनात्मक सूचना सेकेन्डमै लाखौंमा फैलिन्छ, जसले तनावग्रस्त माहौल सिर्जना गर्छ । राज्ययन्त्रको कमजोर प्रारम्भिक उपस्थिति, प्रहरी र प्रशासनले सानो विवादमै निवारक, मध्यस्थ हस्तक्षेप गर्न नसक्दा अविश्वास बढ्छ । आर्थिक संकट र बेरोजगारीले निराश युवाहरूलाई धार्मिक÷जातीय पहिचानको आधारमा सजिलै संगठित हुने जोखिम बढाएको छ । यी चारै कारणले एउटा सानो घटना पनि साम्प्रदायिक दंगामा परिणत हुन पुग्छ ।धार्मिक द्वन्द्व सामान्य विवादभन्दा भिन्न हुन्छ । यसमा भावनाको तह यति गहिरो हुन्छ कि तथ्य, कानुन र तर्कले तुरुन्त प्रभाव पार्दैन । यसले समुदायभित्रको विश्वास ध्वस्त पार्छ, सुरक्षाको अनुभूति समाप्त गर्छ र पुस्तौंसम्म मनोवैज्ञानिक चोट छोड्छ । सुनसरीको घटनापछि स्थानीय बजार, शिक्षण संस्था, स्वास्थ्य सेवा ठप्प हुनु, विस्थापितको संख्या बढ्नु, सरकारी खर्च बढ्नु तत्कालीन प्रभाव हो ।
दीर्घकालीन रूपमा यसले लगानीको विश्वास गुमाउँछ, सामाजिक पुँजी क्षयीकरण हुन्छ र राष्ट्रिय प्रतिष्ठामा आघात पुग्छ । अन्तर्राष्ट्रिय जगतले यस्ता घटनालाई नेपालको स्थायित्वको सूचकका रूपमा हेर्छ, जसले कूटनीतिसम्म असर गर्छ । तसर्थ, यो राष्ट्रिय सुरक्षाको अभिन्न पाटो हो ।एकल उपायले यस्तो जटिल समस्या समाधान हुँदैन । सरकार, सुरक्षा निकाय, न्यायपालिका, धर्मगुरु, नागरिक समाज, मिडिया, शैक्षिक संस्था र स्थानीय समुदायको सहभागितामा बहुस्तरीय रणनीति आवश्यक छ । संवाद र विश्वास–निर्माण सबै धर्मका धर्मगुरु, बुद्धिजीवी, पूर्वप्रशासक र अगुवालाई एकै मञ्चमा राखी नियमित अन्तरधार्मिक गोष्ठी, साझा चाडपर्व आयोजना गर्न सकिन्छ । यसले शंका र भ्रम तोड्न सहायक हुन्छ । कानुनी सुधार, साम्प्रदायिकता, घृणात्मक भाषण, सामाजिक सञ्जालमा द्वेष फैलाउनेलाई तत्काल कारबाही गर्ने संरचना स्पष्ट बनाई कार्यान्वयन गर्न सकिन्छ ।
साइबर अपराध अनुसन्धान क्षमता र डिजिटल फरेन्सिकमा लगानी जरुरी छ ।पूर्वतयारी र प्रारम्भिक चेतावनी प्रणाली, जिल्ला, पालिका, वडास्तरमा शान्ति समितिलाई सक्रिय पारी विवादको प्रारम्भिक संकेत पहिचान र सम्बोधन गर्न सकिन्छ । सामुदायिक प्रहरी परिचालन, धार्मिक स्थल सुरक्षा, सूचना संकलनको डिजिटलाइजेसन आवश्यक छ । आर्थिक/सामाजिक समावेशीकरण, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधारमा सबै समुदायको समान पहुँच सुनिश्चित गर्न सकिन्छ । जब राज्यले हरेक नागरिकलाई सुरक्षा र अवसरको अनुभूति दिन्छ, धार्मिक÷जातीय उक्साहीले प्रभाव पार्दैन । शिक्षामा बहुसांस्कृतिकता, सहिष्णुता, मानवअधिकार समावेश गर्न सकिन्छ । मिडिया साक्षरता अभियानले सामाजिक सञ्जालको झूटा समाचार पहिचान गर्न सिप दिन्छ ।
राज्यको गम्भीर उपस्थिति, प्रशासनले संवेदनशील समयमै उच्च–अधिकारी खटाउने, मुद्दा चलाउने, पीडितलाई तत्काल राहत दिने व्यवस्था सुनिश्चित गर्न सकिन्छ ।सरकारी प्रयाससँगै धर्मगुरुको भूमिका महत्त्वपूर्ण छ । उनीहरूले प्रवचन, प्रार्थना, सन्देशमार्फत शान्ति, अहिंसा, करुणाको महत्त्व प्रचार गर्न सक्छन् । धार्मिक स्थललाई संवादको केन्द्र बनाई मेलमिलापको पहल गर्न सकिन्छ । उनीहरूकै पहलमा साझा धार्मिक दिवस, शान्ति प्रार्थना आयोजना गर्दा जनमानसमा गहिरो सकारात्मक प्रभाव पर्छ ।हिंसाको कुनै रूपले दीर्घकालीन समाधान दिँदैन, यसले अविश्वास, भय र विभाजनलाई मात्र गहिरो बनाउँछ । सुनसरीको घटनाले देखायो— धार्मिक भावनाको दुरुपयोगले सामान्य विवादले राष्ट्रकै सामाजिक तानाबानामा चिरा पार्न सक्छ । यस्ता घटनापछि हामीले आफैँलाई सोध्नुपर्छ, के धर्मको नाममा अर्को समुदायलाई पीडा दिनु कुनै आस्थाको अनुमोदित मार्ग हो ? हरेक धर्मग्रन्थको मूलशिक्षा अहिंसा, सत्य, संयम र मानवीय एकतामै केन्द्रित छ ।
धर्मको वास्तविक अर्थ विभाजन होइन, समागमको पुल निर्माण हो ।अबको चुनौती यस्ता घटनाको पुनरावृत्ति रोक्न राज्य, समुदाय, धर्मगुरु, मिडियाबीच प्रभावकारी समन्वय हो । संवाद, कानुनी सुधार, सामाजिक सञ्जाल नियमन, आर्थिक समावेशीकरण, निवारक मनोवैज्ञानिक हस्तक्षेप विना सद्भावको रक्षा दिगो हुँदैन । सरकारले स्वतन्त्र छानबिन, न्यायोचित कारबाही, संवेदनशील क्षेत्रमा दीर्घकालीन सुरक्षा योजना अघि सार्नुपर्छ । विद्यालयदेखि विश्वविद्यालयसम्म सहिष्णुता र सांस्कृतिक विविधताबारे पठनपाठन अनिवार्य बनाउनु राष्ट्रिय आवश्यकता हो ।
शान्ति र सद्भाव कुनै एक समुदायको निजी सम्पत्ति होइन, ती समग्र राष्ट्रको साझा चासो, पुँजी र जीवनरेखा हुन् । यसको संरक्षण सबै नेपालीको साझा दायित्व हो । आफ्नो आस्थाप्रति गम्भीर, अर्काको प्रति सम्मानशील, राष्ट्रप्रति उत्तरदायी भएर संवाद, सहिष्णुता र संस्थागत सुधारलाई आधार बनाउँदै मात्र विविधताभित्रको एकतालाई सशक्त पार्न र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न सकिन्छ । सुनसरीको पीडालाई आत्मसात् गर्दै वास्तविक धर्मको जीत त्यहीँ हुन्छ, जहाँ मानवीय गरिमाको संरक्षण पहिलो प्राथमिकता हो ।