सिन्धुली– मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बसको ठक्करबाट कार सुकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार बेपत्ता हुनेहरूमा कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा तथा नाम नखुलेका एक जना हेल्पर रहेका छन्। कार चालक र हेल्परको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो। ठक्करको प्रभावले कार सडकबाट सुकोशी नदीमा खसेको हो। कारको नम्बर भने अझै खुल्न सकेको छैन। घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धार टोली बेपत्ताहरूको खोजीमा जुटेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।