काठमाडौं । नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा बालबालिकाको उद्धार, राहत र पुनःस्थापनाका लागि चिल्ड्रेन भिजन नेपालले बेलायतमा आयोजित एक कार्यक्रममार्फत सहयोगको अपिल गरेको छ । संस्थापक अध्यक्ष रमेश सिलवालले उक्त सहयोगको अपिल गरेका हुन् । नेपालमा स्थापना भई बालबालिका तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन भिजन नेपालका अध्यक्ष सिलवालले बेलायत–नेपाल चेम्बर अफ कमर्सको आयोजनामा लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा नेपालका बाढीपीडित परिवार तथा बालबालिकाको सहयोगका लागि आह्वान गरेका हुन् ।
कार्यक्रममा सिलवालले बाढी तथा प्राकृतिक विपत्तिका कारण धेरै परिवारले घर, विद्यालय, रोजगारी तथा दैनिक जीवनका आधारभूत आवश्यकता गुमाउनुपरेको बताए । प्रभावित नागरिक, विशेषगरी बालबालिकाका लागि खाद्यान्न, स्वच्छ खानेपानी, कपडा, स्वास्थ्य सेवा, सुरक्षित आवास तथा बाल संरक्षण तत्काल आवश्यक रहेको उनले उल्लेख गरे ।
नेपालका प्रभावित नागरिक र बालबालिका अहिले हाम्रो सहयोगको प्रतीक्षामा छन्। व्यक्ति, संस्था, व्यवसायी तथा नेपालप्रति सद्भाव राख्ने सबैले आफ्नो क्षमता र स्थानअनुसार सहयोगका लागि अगाडि आउन आवश्यक छ’, उनले भने । आफू पनि बाढी प्रभावित नदी क्षेत्र नजिकै जन्मिएर हुर्किएको उल्लेख गर्दै सिलवालले प्राकृतिक विपत्तिबाट उत्पन्न पीडा आफूले नजिकबाट अनुभूति गरेको बताए । विपत्तिमा परेका परिवार तथा बालबालिकालाई आवश्यक सहयोग पु¥याउन चिल्ड्रेन भिजन नेपाल निरन्तर सक्रिय रहने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा सार्क चेम्बर अफ कमर्सका पदाधिकारी, वेस्ट लन्डन चेम्बर अफ कमर्सका प्रतिनिधि, बेलायतस्थित व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका व्यक्तित्वहरूको सहभागिता थियो। सो अवसरमा सिलवालले आगामी दिनमा नेपालका बाढीपीडितका लागि च्यानल एसले आयोजना गर्न लागेको सहयोग तथा फन्डरेजिङ कार्यक्रमप्रति आभार व्यक्त गर्दै अभियानमा आवश्यक सहकार्य र सहयोग गर्न चिल्ड्रेन भिजन नेपाल तयार रहेको बताए ।