काठमाडौं, ह्याम्स अस्पतालले भारतको म्याक्स सुपर स्पेसालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्य गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दुई अस्पतालबीच सहकार्यको घोषणा गरिएको हो ।
यस रणनीतिक सहकार्यको मुख्य उद्देश्य नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु रहेको छ । साथै जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने बिरामीका लागि व्यवस्थित र समन्वित रेफरल प्रणाली विकास गर्ने तथा उपचारअघि र उपचारपछिको निरन्तर र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यले सम्झौता गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा नेपाल तथा भारतका ख्यातिप्राप्त कार्डियोथोरेसिक तथा थोरेसिक शल्यचिकित्सा विशेषज्ञहरूले अत्याधुनिक शल्यचिकित्सा प्रविधि, न्यून शल्यक्रिया, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नवीनतम अभ्यासहरूबारे आफ्ना अनुभव, अनुसन्धान तथा ज्ञान आदानप्रदान गरेका थिए ।
कार्यक्रममा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले म्याक्स हेल्थकेयरसँगको रणनीतिक सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग अझ प्रभावकारी रूपमा जोड्ने विश्वास लिएको बताए । सहकार्यमार्फत उपचारपूर्व विशेषज्ञ परामर्शदेखि उपचार समन्वय तथा उपचारपछिको निरन्तर फलो–अप सेवासम्मको संरचित स्वास्थ्य सेवा प्रणाली विकास हुने उनको भनाइ छ । ‘हाम्रो लक्ष्य नेपाली बिरामीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय, सहज, सुरक्षित तथा बिरामीकेन्द्रित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो’, उनले भने । यस प्रकारको अन्तर्राष्ट्रिय सहकार्यले दुवै संस्थाका स्वास्थ्यकर्मीबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनेछ, जसको प्रत्यक्ष लाभ अन्ततः बिरामीहरूले नै प्राप्त गर्नेछन् ।
यस रणनीतिक सहकार्यअन्तर्गत विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीहरूले ह्याम्स अस्पतालमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार योजना, उपचार व्यवस्थापन तथा उपचारपश्चात नेपालमै निरन्तर फलो–अप सेवासहित एकीकृत र समन्वित स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । ह्याम्स अस्पतालले यस सहकार्यलाई आफ्नो अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ ।