Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजार‘बीमा कम्पनीमा अर्को वर्ष एनएफआरएस लागू गर्न सकिन्छ’

‘बीमा कम्पनीमा अर्को वर्ष एनएफआरएस लागू गर्न सकिन्छ’


काठमाडौं । नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त आयोजनामा मंगलबार काठमाडौंमा ‘नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)–१७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ विषयक छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम नेपालको बीमा क्षेत्रमा एनएफआरएस– १७ लागू गर्नका लागि गर्नुपर्ने तयारी, आउन सक्ने चुनौती र सम्बोधन गर्नुपर्नेलगायतका विषयका बारेमा सम्बद्ध नियामक निकायहरू र बीमकहरूबीच छलफल गरी निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस–१७ लागू गर्नका लागि वातावरण बनाउन र क्षमता अभिवृद्धि गर्नका लागि प्राधिकरण, लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आ–आफ्नो जिम्मेवारी वर्गीकरण गरी कार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष सिलवालले भने, ‘सम्बद्ध नियामक निकायहरू आ–आफ्नो जिम्मेवारी यकिन गरी अगाडि बढेमा यस वर्ष नसकिए पनि अर्को वर्ष पूर्णरूपमा एनएफआरएस–१७ लागू गर्न सकिन्छ, त्यसका लागि वातावरण बनाउनुपर्छ, प्राधिकरण र बीमा कम्पनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ ।’

एनएफआरएस–१७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने र पुनर्बीमा गर्न तथा दाबी भुक्तानी पाउन सहज हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘प्राधिकरणले आरबीसी र ओर्सा कार्यान्वयन गर्न लागेको छ, त्यसबाट एनएफआरएस–१७ लागू गर्न सहयोग पुग्नेछ, बीमा कम्पनीहरूमा एनएफआरएस–१७ लागू गर्ने प्रतिबद्धता देखिएको छ, एनएफआरएस–१७ लागू हुँदाको अवस्थामा करलगायत अन्य नीति कस्तो हुने हो भन्ने सम्बन्धमा सम्बद्ध सरकारी निकायहरूको साझा बुझाइ हुनुपर्छ ।’ लेखामान बोर्ड नेपालका अध्यक्ष प्रकाश जंग थापाले आगामी साउन १ गतेदेखि नै एनएफआरएस–१७ लागू गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानको मूल प्रावधानमा असर नपर्ने गरी एनएफआरएस–१७ लागू गर्दा आइपर्ने समस्या समाधान गर्न बोर्ड तयार रहेको बताए ।

No description available.

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजन काफ्लेले एनएफआरएस–१७ लागू गर्नका लागि बीमा कम्पनीहरूलाई यसको महत्वका बारेमा बुझाउनुपर्ने, पूर्वाधारमा लगानी गर्नुपर्ने र साझा सफ्टवेयर बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै एनएफआरएस–१७ लागू गर्नका लागि सम्बन्धित निकाय निकायहरूको सहभागितामा गठित उच्चस्तरीय समितिअन्तर्गतको प्राविधिक समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको जानकारी दिए । कार्यक्रममा नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा क्षेत्रमा एनएफआरएस–१७ लागू गर्न लगानीका दृष्टिले ठूलो चुनौती रहे पनि पूर्वाधार, सूचना प्रविधि र जनशक्तिलगायतका विषयमा मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्ले र लेखामान बोर्ड, नेपालका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट मनिष उप्रेतीले एनएफआरएस–१७ सम्बन्धी छुट्टा छुट्टै प्रस्तुति गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सञ्चालन गर्नुभएको कार्यक्रममा लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पदाधिकारी, नेपाल बीमा प्राधिकरणका निर्देशक, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता रहेको थियो । एनएफआरएस–१७ लागू भएपछि नेपालको बीमा क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने, अन्तर्राष्ट्रिय वित्तीय विवरणमा एकरूपता कायम हुने, देशमा वैदेशिक लगानी वृद्धि हुने र वैदेशिक व्यापारमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया