Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारअख्तियारको अस्वाभाविक दबाबपछि बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा सकस

अख्तियारको अस्वाभाविक दबाबपछि बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा सकस


काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पद गत जेठ १२ गतेदेखि रिक्त छ । रिक्त पदमा तीन जना निर्देशकको योग्यता पुगे पनि राजनीतिक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको दबाबको कारण कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि अध्यक्ष सूर्यप्रसाद सिलवाललाई निकै सकस परेको छ ।

बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण शक्तिशाली नियामक निकाय हो । त्यसैले बीमा प्राधिकरणको कार्यकारी निर्देशक को बन्ने भन्ने विषय पेचिलो बन्न पुगेको छ । अध्यक्ष सिलवालले प्राधिकरणभित्र संस्थागत सुशासन र विधिको पालना गरेको अवस्थामा कमलराज रेग्मी स्वतः कार्यकारी निर्देशक बन्ने अवस्था छ । तर, अख्तियारका प्रमुख आयुक्त राईले हस्ताक्षेप बढाएपछि थप सकस उत्पन्न भएको छ ।

राईनिकट एक जना अधिवक्ता आशिष अधिकारीको सेटिङमा पुजन ढुंगेल (अधिकारी)लाई कामु कार्यकारी नियुक्ति गर्न दबाब दिइरहेका छन् । पुजनका श्रीमान् आशिष अधिकारी प्रमुख आयुक्त राईसँग दिनहुँ भेटघाट गर्ने अधिवक्ता हुन् । आफूनिकट अधिवक्ताको लागि प्रेम राईले पटक–पटक सिलवाललाई बोलाएर पुजनलाई कामु कार्यकारी निर्देशक नियुक्ति गर्न दबाब दिइरहेका छन् । पछिल्लो पटक आइतबार पनि प्रमुख आयुक्त राई र प्राधिकरणका अध्यक्ष सिलवालबीच करिब एक घण्टा रातोघरमै छलफल भएको स्रोतको दाबी छ ।

उता अर्थ मन्त्रालयले भने योग्यता पुगेकै व्यक्तिलाई प्रक्रिया पूरा गरेर कार्यकारी निर्देशक नियुक्ति गर्नुपर्ने अडान राखिरहेको छ । अर्थ मन्त्रालयबाट बीमा प्राधिकरणमा प्रतिनिधित्व गर्ने नारायण रिसाल सोही कारण प्राधिकरणको बोर्ड बैठकमा समेत सहभागी भएका छैनन् ।

योग्यता नपुग्ने व्यक्तिलाई कामु कार्यकारी नियुक्ति गर्न अख्तियारले दबाब दिने र अर्थ मन्त्रालयले प्रक्रिया पुरा गरी कार्यकारी निर्देशक नै नियुक्ति गर्ने अडानका बीचमा नियामक नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको विषय थप सकसपूर्ण बन्न पुगेको छ ।

बीमा प्राधिकरणमा समयमा कार्यकारी निर्देशक नहुँदा दैनिक प्रशासनिक कार्यहरू समेत अल्झिन पुगेको छ । गत जेठ १२ गते राजुरमण पौडेल सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि कार्यकारी निर्देशक पद रिक्त छ । कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि पाँच वर्ष निर्देशक भइसकेको हुनुपर्नेछ । तर, महिला र आदिवासी जनजातिको हकमा चार वर्ष मात्रै निर्देशक भए पनि आरक्षणमा कार्यकारी निर्देशक बन्न योग्यता पुग्नेछ ।

सोअनुसार कमलराज रेग्मी, दिनेशकुमार लाल र पुजन ढुंगेल कार्यकारी निर्देशक बन्न योग्य छन् । यद्यपि दिनेशकुमार लाल पनि यही जेठ मसान्तबाट अनिवार्य अवकाशमा जाने हुँदा कमलराज रेग्मी र पुजन ढुंगेल मात्रै कार्यकारी निर्देशक बन्न योग्य छन् । रेग्मी विगत नौ वर्षदेखि निर्देशक पदमा कार्यरत रहेका छन् भने पुजन भर्खरै मात्र चार वर्ष पूरा गरेकी हुन् ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x