Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारजीवन बीमा कम्पनीले सात महिनामा संकलन गरे ८७ अर्ब बीमाशुल्क

जीवन बीमा कम्पनीले सात महिनामा संकलन गरे ८७ अर्ब बीमाशुल्क


काठमाडौं । जीवन बीमा कम्पनीहरूले पछिल्लो सात महिनामा करिब ८७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म १७ वटा जीवन बीमा कम्पनी र तीनवटा लघु जीवन बीमा कम्पनीले कुल ८६ अर्ब ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव २३ प्रतिशतले बढी हो । गतवर्ष माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ८३ अर्ब ३९ करोड रुपैयाँँ बीमाशुल्क आर्जन गरेका थिए ।

यसवर्ष सात महिनामा आर्जन भएको बीमाशुल्कमध्ये १६ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क छ भने ७० अर्ब ७७ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ । यसमध्ये तीनवटा लघु जीवन बीमा कम्पनीको हिस्सा चार करोड २२ लाख रुपैयाँ मात्र छ ।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २३ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमध्ये दोस्रो ठूलो कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन छ । यो कम्पनीले २० अर्ब १४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेसनल लाइफ इन्स्योरेन्सले पनि १० अर्ब पाँच करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले १२ अर्ब ६७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गतवर्ष माघमा ११ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले दुई लाख ७७ हजार ८ सय १७ वटा बीमा लेख जारी गरेका छन् । यसमध्ये तीनवटा लघुबीमा कम्पनीहरूले छ हजार सात सय ८३ वटा बीमालेख जारी गरेका छन् ।

माघ महिनासम्म कुल एक करोड ३७ लाख ९४ हजार एक सय ३७ वटा बीमालेख सक्रिय रहेको बीमा प्राधिकरणले जनाएको छ । यसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ९७ लाख ९४ हजार दुई सय ७९ वटा बीमालेख सक्रिय रहेका छन् । जुन कुल बीमालेख संख्याको ७१ प्रतिशत हुन आउँछ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया