Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारदुई दर्जन बीमा कम्पनी मर्जर तथा प्राप्तिमा सामेल

दुई दर्जन बीमा कम्पनी मर्जर तथा प्राप्तिमा सामेल


काठमाडौं । तत्कालीन बीमा समितितले २०७३ सालमा ‘बीमक गाभ्ने तथा गाभिनेसम्बन्धी निर्देशिका, २०७३’ जारी गर्यो । त्यसपछि समितिले २०७६ सालमा सो निर्देशिका परिमार्जन गरी दोस्रोपटक जारी गरेको थियो ।

यस अवधिसम्म बीमा कम्पनीहरूले मर्जर तथा प्राप्ति प्रक्रियामा खासै चासो देखाएनन् । जब समितिले २०७८ चैत १० गते जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरूको नाममा न्यूनतम चुक्ता पुँजी वृद्धिसम्बन्धी एउटा परिपत्र जारी गरेको थियो । परिपत्रअनुसार जीवन बीमा कम्पनीहरूले सो समयमा कायम रहेको न्यूनतम चुक्ता पुँजी जीवन बीमाको हकमा दुई अर्ब र निर्जीवन बीमाको हकमा एक अर्ब रुपैयाँलाई वृद्धि गरी जीवन बीमाको लागि पाँच अर्ब र निर्जीवन बीमाको लागि दुई अर्ब रुपैयाँ पुर्याउने पर्ने नीतिगत व्यवस्था गरियो ।

तत्कालीन बीमा समितिले गरेको सोही व्यवस्थाका कारण अहिलेजीवन र निर्जीवन गरी झण्डै दुई दर्जन बीमा कम्पनीहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । प्राधिकरणले निर्देशिका जारी गरेपनि मर्जरमा नगएका बीमा कम्पनीहरूले न्यूनतम चुक्ता पुँजी वृद्धिसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि मर्जर तथा प्राप्तिमा जान बाध्य भएका थिए । सोही कारण पनि चालू आर्थिक वर्षको पछिल्लो अवधिसम्म २१ वटा बीमा कम्पनीहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भई १० वटा संस्था कायम भएका छन् । अहिले जीवन बीमातर्फ १४ वटा, निर्जीवन बीमातर्फ १४ वटा, पुनर्बीमातर्फ दुईवटा र लघुबीमातर्फ सातवटा गरी ३७ वटा बीमा कम्पनीहरूले कारोबार सञ्चालन गर्दै आएका छन् ।

प्राधिकरणका अनुसार मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका कम्पनीहरूमध्ये आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भएर आईजीआई पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी बनेको छ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज भएर युनाइटेड अजोड इन्स्योरेन्स बनेको छ । यसैगरी सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बनेको भने सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भएर सानिमा जनरल इन्स्योरेन्स बनेको छ । यसैगरी सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बनेको छ भने सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको छ । सूर्या लाइफ र ज्योति लाइफ मर्ज भएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार गर्दै आएका छन् भने गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ मिलएर हिमालयन लाइफ इन्स्योन्सको नामबाट एकीकृत कारोबार गर्दै आएका छन् । यसबाहेक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर भएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नाममा एकीकृत कारोबार गर्दै आएको प्राधिकरणको भनाइ छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया