Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारवीरगञ्जमा सञ्चारकर्मीहरूसँग बीमासम्बन्धी छलफल

वीरगञ्जमा सञ्चारकर्मीहरूसँग बीमासम्बन्धी छलफल


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि सञ्चार माध्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज वीरगञ्जमा मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यरत सञ्चारकर्मीहरूसँग भएको बीमासम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको बीमा क्षेत्रलाई समेत प्राथमिकता दिन सञ्चारकर्मीहरूसँग आग्रह गरे ।

अध्यक्ष सिलवालले भने, ‘बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिन्छ, सरकारले चन्दा र राहतको व्यवस्था गर्नुभन्दा नागरिकको जीवन र सम्पत्तिको बीमा गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ, बीमा गरेपछि बीमा कम्पनीले नै क्षतिपूर्ति प्रदान गर्छन्, बीमाबाटै गरिब तथा विपन्न वर्गको जीवनस्तर उकास्न सकिन्छ, बीमाका बारेमा बुझाउन र पहुँच बढाउन सञ्चार माध्यमहरूको महत्वपूर्ण भूमिका हुन्छ ।’

अध्यक्ष सिलवालले सञ्चार माध्यममा आउने बीमासम्बन्धी समाचारहरूबाट बीमासम्बन्धी नीति, रणनीति बनाउन सहयोग पुग्ने उल्लेख गर्दै सञ्चारकर्मीहरूका लागि बीमासम्बन्धी तालिम, अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले प्राधिकरणका काम, कारबाही र नियामकीय भूमिका, बीमाको पहुँच, बीमा बजारको अवस्था, बीमासम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र बीमा क्षेत्रको विकास तथा पहुँच वृद्धिमा सञ्चारमाध्यमको भूमिकासम्बन्धी प्रस्तुति गरेका थिए ।

कार्यक्रममा सञ्चारकर्मीहरूले नेपाल बीमा प्राधिकरणले सञ्चारकर्मीहरूका लागि नियमितरूपमा तालिम तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुपर्ने, बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि सञ्चारकर्मीहरूसँग समन्वय गरी अगाडि बढ्नुपर्ने, बीमासम्बन्धी ठगी र बद्मासी नियन्त्रण गर्न प्राधिकरणले नियमन र अनुगमनमा कडाई गर्नुपर्ने, भोजपुरी र मैथिली भाषामा समेत बीमासम्बन्धी प्रचारप्रसार गर्नुपर्नेलगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला शाखाका पदाधिकारीहरू, बारा, पर्सा र रौतहत जिल्लाका विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी र ती जिल्ला कार्यक्षेत्र रहेका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गरेका थिए ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया