Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा अफ्रिकादेखि अमेरिकासम्मका विदेशी कामदारको चाप

नेपालमा अफ्रिकादेखि अमेरिकासम्मका विदेशी कामदारको चाप


काठमाडौं ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अफ्रिकादेखि अमेरिकासम्मका गरी ९० भन्दा बढी मुलुकका विदेशी कामदार कामका लागि नेपाल आउने गरेको जानकारी दिएको छ । करिब तीन वर्षको अन्तरालमा (२०७५ देखि हालसम्म) ९० भन्दा बढी मुलुकका चार हजार ९९ जना विदेशी कामदार काम गर्नका लागि नेपाल आएको श्रम तथा सुरक्षाजन्य विभागले जानकारी दिएको छ । नयाँ श्रम स्वीकृति लिने र नवीकरण गरी सो संख्यामा विदेशी कामदार नेपालमा रहेको विभागका प्रवक्ता एवं निर्देशक मणिनाथ गोपले आर्थिक दैनिकलाई जानकारी दिए । यसैबीच उनीहरु सबै जना दक्ष कामदार रहेको बताइएको छ ।

‘श्रम ऐन २०७४ अनुरुप दक्ष कामदार मात्र नेपाल आउन पाउने व्यवस्थाका कारण दक्ष विदेशी कामदार मात्र हाम्रो मुलुकमा आउने गरेका हुन्’, निर्देशक गोपले भने, ‘विदेशी कामदार काम खोज्दै नेपाल आउने भन्दा पनि उनीहरुलाई सम्बन्धित संघ/संस्थाले काम गर्नको लागि बोलाउने गरेको हो ।’ नेपालमा रहेका विभिन्न संघ, संस्था दक्ष व्यक्तिहरुको अभाव रहेको हुन्छ अर्थात् नेपाली जनशक्ति दक्ष नहुँदा उनीहरुलाई बोलाउने गरेको पाइन्छ । यसरी आउनेमा चिकित्सक, पाइलट, शिक्षक, इन्जिनियर लगायतका प्राविधिक समेत हुने गरेको पाइन्छ ।

विभागका अनुसार नेपालमा काम गर्न आउनेमा युरोपेली, अमेरिकी, एसियाली मुलुकदेखि गरिब मानिने अफ्रिकी मुलुकबाट समेत काम गर्न आउने गरेका छन् । निर्देशक गोपले उनीहरु काम गर्न आउँदा श्रम स्वीकृति अनिवार्य रहेको बताए । जसरी नेपालीहरु वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक जाँदा सम्बन्धित मुलुकको श्रम स्वीकृति आवश्यक पर्छ । त्यसैगरी नेपालमा काम गर्न आउने विदेशी श्रमिकलाई श्रम स्वीकृति अनिवार्य छ भने विभागले श्रम स्वीकृति प्रदान तथा नवीकरण गर्ने गरेको पाइन्छ ।

श्रम स्वीकृतिकै आधारमा विदेशी नागरिकलाई भिसा प्रदान गर्ने गरेको अर्थात् भिसाको अवधि तोक्ने गरेको अध्यागमन विभागले जानकारी दिएको छ । यसरी तीन वर्षको अवधिमा नेपालमा काम गर्नका लागि आउने विदेशी नागरिकहरु तथा यहाँ रहेका विदेशी नागरिकहरुमध्ये नौ जना म्यान्मारका, क्रमशः ११/११ जना भुटानी/पाकिस्तानी, मलेसियन, १९ जना बंगलादेशी, २२ जना श्रीलंकाका, ३२ जना फिलिपिन्सका, ८३ जना भारतीय, तीन हजार ९८ जना चिनियाँ नागरिक रहेका छन् ।

यस्तै सात जना डेनमार्कका, १० जना रसियन, १३ जना टर्किस, १६/१६ जना क्यानडियन तथा स्पेनिस, २२ जना जर्मनी, २९ जना फ्रान्सेली, ४१ जना इटालियन, ४३ जना अष्ट्रेलियन, ४७ जना जापानी, ७३ जना दक्षिण कोरियन, एक सय २० जना बेलायती तथा एक सय ११ जना अमेरिकी नागरिक उक्त अवधिमा नेपालमा काम गर्न आएका छन् ।

सोही समयमा तीन जना घानाका, चार जना कोलम्बियन, नौ जना दक्षिण अफ्रिकन, १५ जना न्युजिल्याण्ड, १७ जना ब्राजिलियन, १८ जना क्यामरुनका र २३ जना नाइजेरियन नागरिकहरु समेत नेपालमा आएको तथा यहाँ कार्यरत रहेका छन् । यस्तै योबाहेक पनि अफगानिस्तान, आर्मेनिया, बेल्जियम, कंगो, इजिप्ट, इथोपिया, फिनल्याण्ड, घाना, आयरल्याण्ड, मेक्सिको, मोरक्को, रुवान्डा, स्विट्जरल्याण्ड, ताजकस्तान तथा सर्बियालगायतका मुलुकबाट नेपालमा काम गर्न आउने गरेका छन् ।

श्रम ऐनअनुरुप विभागबाट श्रम इजाजत नलिई रोजगारदाताले कुनै पनि विदेशी नागरिकलाई श्रमिकको रुपमा काममा लगाउन पाउनेछैन भने विदेशी श्रमिक नियुक्त गर्नुपूर्व रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट प्राप्त गर्न माग गुर्नपर्छ भने सो माग पूरा नभएको खण्डमा मात्र प्रमाणसहित विदेशी श्रमिकलाई काममा लगाउन सक्नेछन् ।

यसरी विदेशबाट आउने दक्ष जनशक्तिहरुमा चिकित्सक, पाइलट, इन्जिनियर, शिक्षकका साथसाथै आयोजनाहरुमा काम गर्नलाई सम्बन्धित आयोजनाले ल्याउने कामदारहरु समेत रहेका छन् । नेपालमा भारत, चीनका साथै विभिन्न आयोजनाहरु निर्माणको जिम्मेवारी विदेशीहरुले लिएको पाइन्छ भने उनीहरुले आयोजनामा आवश्यक पर्ने दक्ष जनशक्तिहरु आफ्नो मुलुकबाट ल्याएको पाइन्छ । जस्तो पोखरा तथा भैरहवामा निर्माणाधीन विमानस्थलमा उल्लेखनीय रुपमा चिनियाँ कामदार रहेको पाइन्छ ।

पछिल्लो समयमा भने कोभिडका कारण नेपाल आउन चाहने विदेशी कामदारलाई परराष्ट्रले सहजीकरण गरिरहेका मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले बताइन् । उनले सहजीकरणसँगै चीनलगायत युरोपियन मुलुकबाट न्यून संख्यामा विदेशी कामदार नेपाल आएको बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया