Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु

लाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु

मञ्जुश्री र श्री इन्भेष्टमेन्टबाहेक सबैको वितरणयोग्य नाफा ऋणात्मक


काठमाडौं,फाइनान्स कम्पनीहरु आफ्ना सेयरधनीहरुलाई कुनै पनि किसिमको लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये अधिकांशको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ । वितरणयोग्य मुनाफा ऋणात्मक भएका कम्पनीले लाभांश वितरण गर्न सक्दैनन् । फाइनान्स कम्पनीहरुले पनि चौथो त्रैमासमा चमत्कारिक नाफा नगरे वितरणयोग्य मुनाफा ऋणात्मक नै कायम रहने देखिन्छ । वितरणयोग्य मुनाफा ऋणात्मक हुँदा फाइनान्स कम्पनीहरुले आफ्ना सेयरधनीलाई बोनस सेयर वा नगद लाभांश वितरण गर्नसक्ने छैनन् ।

अर्थतन्त्र सुस्त बन्दा फाइनान्स कम्पनीहरुले विगत केही समयदेखि नियमितरुपमा कर्जाको साँवाब्याज असुली गर्न सकेका छैनन् । यही कारण फाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानीसँगै खुद मुनाफा घटेको छ भने खराब कर्जा बढेको छ । खराब कर्जा व्यवस्थापनका लागि फाइनान्स कम्पनीहरुले प्रोभिजनिङ बढी गर्नुपर्दा नाफा प्रभावित भएको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा अंधिकाश फाइनान्स कम्पनीहरुको खुद मुनाफा पनि ऋणात्मक छ । यही कारण आर्थिक वर्ष २०८०÷८१को मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने सम्भावना बढेको हो ।

यस आर्थिक वर्षको तेस्रो त्रैमासमा मञ्जुश्री फाइन्सको वितरणयोग्य नाफा दुई करोड आठ लाख ४४ हजार आठ सय ७० रुपैयाँ र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको ३५ लाख दुई हजार ९१ रुपैयाँ छ । यी दुई कम्पनीबाहेक सबै फाइनान्स कम्पनीहरुको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । जसमध्ये आईसीएफसी फाइनान्सको वितरणयोग्य नाफा आठ करोड १८ लाख ५३ हजार रुपैयाँ ऋणात्मक छ भने सेन्ट्रल फाइनान्सको एक करोड ४३ लाख ५३ हजार रुपैयाँले ऋणात्मक छ । यसैगरी रिलायन्स फाइनान्सको वितरणयोग्य नाफा पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड ३१ लाख ६८ हजार रुपैयाँले ऋणात्मक छ ।

गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको वितरणयोग्य नाफा छ करोड १७ लाख ४६ हजार रुपैयाँ ऋणात्मक छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बेष्ट फाइनान्सको वितरणयोग्य नाफा ३० करोड ८७ लाख ७२ हजार रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सको ४० करोड ४३ लाख ३३ हजार रुपैयाँले ऋणात्मक छ । यस्तै, पोखरा फाइनान्सको वितरणयोग्य नाफा पनि ४५ करोड ८८ लाख ६२ हजार रुपैयाँ ऋणात्मक छ । गोर्खाज फाइनान्सको वितरणयोग्य नाफा पनि पछिल्लो अवधिमा ५९ करोड ४७ लाख ६८ हजार रुपैयाँ छ । गुडविल फाइनान्सको वितरणयोग्य नाफा २० करोड ६८ लाख ३९ हजार रुपैयाँले ऋणात्मक छ । नेपाल फाइनान्सको वितरणयोग्य नाफा २२ करोड १० लाख दुई हजार दुई सय २४ रुपैैयाँ ऋणात्मक छ । समृद्धि फाइनान्सको वितरणयोग्य नाफा पनि ५३ करोड ६१ लाख ७० हजार रुपैयाँले ऋणात्मक छ ।
मल्टीपर्पस फाइनान्स, जानकी फाइनान्ससहितका केही फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरिसकेको भए पनि वितरणयोग्य मुनाफा खुलाएका छैनन् ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया