Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा जान तत्कालका लागि प्रतिबन्ध

वैदेशिक रोजगारीमा जान तत्कालका लागि प्रतिबन्ध


काठमाडौँ,फागुन २१

सरकारले तत्कालका लागि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई श्रम स्वीकृति नदिने भएको छ । चीनबाट सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण विश्वका ६५ भन्दा बढी देशमा फैलिएको कारण सरकारले तत्कालका लागि श्रम स्वीकृति दिन रोक लगाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार केही समयका लागि श्रम स्वीकृति दिने काम स्थगन गरिएको हो । मन्त्री यादवका अनुसार करिब दुई सातापछि मात्र यस बारेमा नयाँ निर्णय लिइनेछ । नयाँ निर्णय नभएसम्मका लागि कसैलाई पनि श्रम स्वीकृति दिएर विदेश जान स्वीकृत दिइनेछैन । नेपालबाट एक सय १० देशमा संस्थागत र एक सय ७१ देशमा व्यक्तिगत श्रम स्वीकृति दिने गरिएको हो । हाल दैनिक एक हजार नेपाली युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । कामदार लिने देशहरुले पनि कडाइ गर्न थालेको कारण नेपालले पनि श्रम स्वीकृति दिन केही समयका लागि प्रतिबन्धजस्तै लगाएको हो । यसअघि सरकारले दक्षिण कोरिया जाने कामदारहरुलाई पनि त्यहाँ जानबाट रोक लगाएको छ । कोरियामा कोरोना भाइरसबाट मानिसहरुको मृत्यु हुन थालेपछि रोक लगाएको थियो । नेपालीहरु सबैभन्दा बढी साउदी अरब, कतार, मलेसियामा रोजगारीका लागि जाने गरेका छन् । सर्वोच्च अदालतले पनि कोरोनाभाइरस संक्रमण विभिन्न देशमा देखा परेको भन्दै आवश्यक परे केही दिन वा महिनाको लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ ।विश्वको शक्तिमान राष्ट्र अमेरिकामा समेत कोरोनाको सङ्क्रमण भएका व्यक्तिहरु फेला परिसकेका छन् । त्यहाँ छ जनाको मृत्यु भइसकेको बताइएको छ । विश्व अर्थतन्त्रका चलायमान मुलुक दक्षिण कोरिया र जापानमा समेत भाइरस फैलिएको छ । पछिल्लोपटक इटाली, इरानलगायत देशमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी सम्बन्धित मुलुकले विभिन्नखाले सतर्कता अपनाइरहेका छन् ।

अल्पविकसित मुलुक नेपाल छिमेकी चीनसँग सिमाना जोडिएको भएकाले पनि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखिसकेको छ । नेपालसहित दक्षिण एसिया र मध्यपूर्वी एसियाका कतिपय मुलुकलाई कोरोनाको उच्च जोखिममा राखिएको छ । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघिसकेको छ । यीमध्ये अधिकांश व्यक्ति चीनका छन् । यद्यपि अन्य मुलुकमा नयाँ सङ्क्रमण दर चीनभन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । हवाइ सेवा सञ्चालक संघले पनि ज्वरो आएमा विमानबाट यात्रा नगर्न आग्रह गरेको छ । विश्वका करिब ४० मुलुकसँग नेपालको हवाइ सम्झौता भए पनि अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित २९ वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । कोरोना सङ्क्रमण भेटिएका मुलुक चीन, दक्षिण कोरिया, जापानलगायत मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्न व्यवसायीले नियामक निकायलाई आग्रह गरेका छन् ।बुद्ध एयरले कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै रुघाखोकी तथा ज्वरो आएका व्यक्ति तथा आफन्तजनले हवाइ यात्रा नगर्न तथा विमानस्थलमा पनि नआउन आह्वान गरेको हो । कम्पनीले टिकट काटिसकेका यात्रुमा पनि त्यस्तो समस्या भएमा बरु यात्रा रद्द गर्न सुझाउँदै टिकट रद्द गरेबापत नियमानुसार भाडा फिर्ता गरिने जनाएको छ ।कोरोना भाइरसको प्रकोप संसारभरि नै फैलिरहेकाले त्यसका लागि सबैले सावधान अपनाउनैपर्ने हुँदा मुख्य लक्षण देखिएका व्यक्तिले जहाजको यात्रा नगर्न र विमानस्थल नगइदिन सूचनामा भनिएको छ ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गर्दै विमानस्थलबाट आवतजावत गर्ने सबै हवाइ यात्रुलाई स्वागत तथा विदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थाबाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरेको थियो । साथै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको गरिएको विमानस्थलले जनाएको छ ।

विदेशमा रहेका नेपालीलाई समस्या नहुने

सरकारले विदेशमा रहेका नेपालीहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएमा उपचारको लागि समस्या नहुने बताएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो एसिया, युरोप हुँदै अमेरिकासम्म देखिएको छ ।४० लाखभन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीको लागि मलेसिया, खाडी मुलुकका साथै एक सय १० भन्दा बढी मुलुकमा रोजगारीका लागि गएका छन् । संक्रमण फैलिएसँगै वैदेशिक रोजगारीमा गएका यसबाट प्रभावित हुने सम्भावना प्रबल रहेको छ भने संक्रमणबाट जोगिन तथा संक्रमित भएको अवस्थामा भने उनीहरुलाई सम्बन्धित मुलुकले नै उपचार प्रदान गर्ने सरकारको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैदेशिक रोजगारीका कारण विभिन्न मुलुकमा गएका युवाहरुमा कोरोना संक्रमण देखापरेमा सम्बन्धित मुलुकले नै उपचार गर्ने जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेटस (दुबई), कुवेत, ओमान, बहराइन लगायतको मुलुकमा देखापरेको छ । ती मुलुकमा नेपालीहरु उच्च संख्यामा काम गर्नका लागि गएका छन् । यस्तै कोरोनाको संक्रमण जापान, लेबनान, इजरायल अमेरिका, इटली समेत देखा परेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरु सार्वजनिक ठाँउहरु अर्थात् बढी हुने स्थानहरुमा काम गरेको खण्डमा भने उनीहरुमा कोरोनाको जोखिम उच्च हुने कार्यालयले जनाएको छ भने उनीहरुलाई सुरक्षित रहन समेत आग्रह गर्दै आएको जनाएको छ । मन्त्रालयका सह–सचिव राजेन्द्र कुमार पौडेलले कोरोनाको संक्रमण बढ्न नदिनको लागि तथा विश्व स्वास्थ्य संगठनको निर्देशनअनुरुप व्यक्ति जुनसकै देशमा रहे पनि सो मुलुकले उपचार गर्ने बताए । त्यसैले विदेशमा रहेका नेपालीलाई कोरोना संक्रमण भएको खण्डमा समस्या पर्नेछैन । संगठनले गरेको व्यवस्थाअनुरुप कोरोनाको संक्रमण फैलिन नदिनको लागि व्यक्ति जुनसुकै मुलुकमा संक्रमित भए पनि सो मुलुकले उपचार दिनुपर्नेछ भने कोरोना संक्रमित व्यक्तिहरुले यात्र गर्न पाउनेछैनन् । यसले गर्दा सम्बन्धित मुलुकले नै उपचार गर्नुपर्ने व्यवस्था रहेको कार्यालयले जानकारी दिएको छ ।

उनले विदेशमा रहेका श्रमिकको हकमा मात्र नभएर विद्यार्थी, व्यापारीलगायतका हकमा सो निर्देशन लागू हुने बताए । ‘वैदेशिक रोजगारीमा गएका मात्र होइन, अन्य प्रयोजनले गएकाहरु संक्रमित भएको खण्डमा उपचार प्राप्त गर्नेछन्’, उनले भने, ‘यसको लागि हामीले नियोगमार्फत सहजीकरण गर्नेछौँ ।’ विदेशमा रहेका नेपालीहरुलाई विदेशस्थित नेपाली दूतावास तथा नेपाली सञ्जालमार्फत सचेत रहन निरन्तर आग्रह गरेको छ भने उपचार गर्नुपरेमा सम्बन्धित मुलुकको स्वास्थ्य संस्थामा जानको लागि अनुरोध गरेको छ । प्रधानमन्त्री कार्यालयले कोरोना भाइरसको संक्रमण रोक्नको लागि स्वास्थ्य मन्त्रालयलाई आवश्यक तयारी गर्न समेत निर्देशन दिएको छ । मन्त्रालयका सचिव नारायणप्रसाद बिँडारीले कोरोनाको संक्रमण रोक्नकै लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकाहरुमा व्यवस्थित गरिएको छ ।‘विमानस्थल र नाकाहरुमा स्वास्थ्य टोलीहरु पठाइएको छ’, उनले भने, ‘त्रिभुवन विमानस्थलमा भने थर्मल स्क्यानिङ, राडार गन र स्प्रेको व्यवस्था गरिएको छ । नाकाहरुमा तयारी गर्नु भनेको नेपालमा कोरोनाको संक्रमण हुन नदिनु हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. विकास देवकोटाले मन्त्रालयबाट सातवटा टोली परिचालन गरेको बताए । ‘हामीले नेपालको विभिन्न नाकामा स्वास्थ्य परीक्षणको लागि टोली परिचालन गरेका छौँ’, उनले भने, ‘त्रिभुवन विमानस्थल र सातवटा प्रदेशमा टोली पठाएका हौँ । प्रदेशसँग समन्वय गरी विभिन्न नाकामा टोलीहरु स्वास्थ्य परीक्षणको लागि बस्नेछ ।’ मन्त्रालयले विदेशमा गएका नेपालीहरु स्वस्थ भएको खण्डमा भने सहज रुपमा स्वदेश फर्किन पाउने जनाएको छ । यस्तै सरकारले विदेश जाने नेपालीहरुलाई भने अति आवश्यक काम भएमा मात्र जानको लागि आग्रह गरेको छ । ‘अति आवश्यक काम भएका व्यक्ति विदेश जान सक्छन्’, उनले भने, ‘अन्यको हकमा भने हामीले मार्च र अप्रिलको अन्तिमसम्म नजानको लागि आग्रह गरेको छौँ तर पूर्ण रोक भने लगाएका छैनौँ ।’ वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेका नेपालीहरुमा भने संक्रमण हालसम्म नदेखिएको सहसचिव पौडेलले बताए । ‘कोरिया जाने कामदारहरु शिक्षित छन्, सचेत छन्’, उनले भने, ‘सो विषयमा कोरिया आफैँ सचेत हुँदा पनि डराउनुपर्ने अवस्था छैन । कोरियामा रहेका नेपालीमा संक्रमण देखिएमा कोरियाले उनीहरुलाई क्वारेन्टाइनमा वा आइसोलेसनमा राखेर उपचार गर्ने गरेको छ ।’ उनले नेपालीहरु विकसित मुलुकमा काम गर्न गएको उल्लेख गर्दै उपचारमा कुनै समस्या नहुने बताए । उनले भने, ‘आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

यस्तै कोरोना संक्रमणबाट स्वदेश र विदेशमा रहेका नेपालीहरुको उपचार तथा सुरक्षित राख्नको लागि सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ११ सदस्यीय टोलीको निर्माण गरेको छ ।टोलीको सदस्यहरुमा गृहमन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भूषाल, स्वास्थ्य जनसंख्यामन्त्री भानुभक्त ढकाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, तत्कालीन अर्थ र सञ्चार तथा सूचना प्रविधि डा.युवराज खतिवडा तथा सदस्यसचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिँडारी रहेका छन् । परराष्ट्र, गृह स्वास्थ्यका सचिव तथा विभागका महनिर्देशक समेत समितिमा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया