Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्युत् महसुल वृद्धि नगर्न विद्युुत् नियमन आयोगलाई उद्योग संगठनको आग्रह

विद्युत् महसुल वृद्धि नगर्न विद्युुत् नियमन आयोगलाई उद्योग संगठनको आग्रह


विराटनगर । उद्योग संगठन मोरङले विद्युत् महसुल वृद्धि नगर्न विद्युुत् नियमन आयोगलाई आग्रह गरेको छ । आयोगले विद्युत् महसुल वृद्धि गर्ने तयारी गरिरहेको प्रति ध्यानाकर्षण भएको भन्दै संगठनले विद्युत् महसुलमा कुनै प्रकारको वृद्धि नगर्न माग गरेको हो ।

उद्योग व्यवसाय क्षेत्रले दैनिक १० घण्टासम्म लोडसेडिङ, ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या भोग्दै आएको वर्तमान समयमा निरन्तर विद्युत् उपलब्ध गराउन र गुणस्तरमा सुधार गर्न पनि संगठनले जोड दिएको छ ।

संगठनले विभिन्न कठिनाइको सामना गर्दै हाल सञ्चालनमा रहेका उद्योग व्यवसाय क्षेत्र र सर्वसाधारणले उपभोग गर्दै आएको प्रतियुनिट विद्युत् तुलनात्मकरुपमा अन्य मुलुकको भन्दा बढी रहेको जनाएको छ । फेरि पनि विद्युत् महसुल वृद्धि गर्दा त्यसको प्रत्यक्ष प्रभाव वस्तुको उत्पादन र मूल्यमा पर्नगई आम उपभोक्ता महँगाइको मारमा पर्ने संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले विद्युत् महसुुल वृद्धि नगरी विद्युत्को भोल्टेज सुुधार गर्न आग्रह गरेका छन् । हाल पूर्वसूचनाविना उद्योग व्यवसायमा हुने पावर कटले श्रमिक व्यवस्थापनमा कठिनाइ भइरहेको उनले बताए । विद्युत्को पुरानो संरचनाका कारण सानो झरी, वर्षा, हावामा समेत अत्यधिक पावर कट भई उत्पादन प्रक्रिया रोकिनाले जेनेरेटर सञ्चालन गरेर उत्पादन गर्नुपर्दा लागत वृद्धि हुन जाने गरेको उनको भनाइ छ । साथै वस्तुको गुणस्तरमा ह्रास आई स्वदेशी उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमतामा नै ह्रास आइरहेको उनले बताए । विद्युुत् महसुुल वृद्धि गर्नभन्दा विद्युुत्को भोल्टेज सुुधारमा जोड दिनुपर्ने उनले बताए ।

प्राधिकरणको महसुल भुक्तानीमा विलम्ब हुदा उपभोक्तासँग जरिबाना लिने तर विद्युत्को गुणस्तरका कारण उद्योगको मिल मेसिनेरीमा आउने खराबीको जिम्मेवारी कसले लिने ? भनी उनले प्रतिप्रश्न समेत गरे । अध्यक्ष सुुरानाले संगठनले हाललाई उद्योगहरुले भोग्दै आएको लोडसेडिङको समस्या, उपलब्ध विद्युत्को गुणस्तर, बारम्बार भइरहने लो भोल्टेज र ट्रिपिङको समस्या समाधान गरी गुणस्तर र निरन्तर विद्युत्को उपलब्ध गराउन प्राधिकरणसँग माग गरेको बताए । अन्य सार्क राष्ट्रहरुले निर्धारण गरेको विद्युत् महसुललाई समेत मध्यनजर गरी सर्वसाधारणको दैनिकी जीवनसँग सम्बन्ध राख्ने विद्युत् महसुल हाललाई यथावत् राखी कुनै प्रकारको वृद्धि नगर्न पनि उनले आग्रह गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 2

तपाईको प्रतिक्रिया