Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदैनिक २० लाख रुपैयाँ रेमिट्यान्स ल्याउन सकिने

दैनिक २० लाख रुपैयाँ रेमिट्यान्स ल्याउन सकिने


काठमाडौं । अबदेखि दैनिक २० लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयनमा ल्याउने क्रममा यस्तो व्यवस्था गरेको हो ।

नेपाली, विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था, शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म, कम्पनी, संस्था)बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित ‘बेनेफिसियरी’को खातामा जम्मा गर्नेगरी दैनिक २० लाख रुपैयाँसम्म विप्रेषण रकम ल्याउन सकिनेछ । राष्ट्र बैंकका अनुसार यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनुपर्नेछ र त्यस्तो कारोबारसम्बन्धी विवरण संलग्न ढाँचामा मासिकरुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र नेपाल राष्ट्र बैंकअन्तर्गतको विदेशी विनिमय विभागमा पठाएको हुनुपर्नेछ ।

यसअघि नेपाली, विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था, शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुनेगरी विदेशबाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्नेगरी दैनिकरुपमा १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन सकिने व्यवस्था थियो ।

राष्ट्र बैंकले सुन बिक्रेता वाणिज्य बैंकमा सुन खरिद गर्ने व्यवसायीको बैंक खाता नभए पनि अन्य बैंक तथा वित्तीय संस्थामा भएको खाताबाट भुक्तानी हुनेभएमा सम्बन्धित वाणिज्य बैंकले सुन बिक्रीको व्यवस्था मिलाउनुपर्ने व्यवस्था पनि गरेको छ । ‘सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८’ अनुसार राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

‘समाज कल्याण ऐन, २०४९’ बमोजिमका सामाजिक संघसंस्थाले भित्र्याउने रकमको हकमा भने प्रचलित कानुनबमोजिम समाज कल्याण परिषद्लाई गराइएको पूर्वजानकारी वा पूर्वस्वीकृति समेत आवश्यक पर्ने राष्ट्र बैंकको भनाइ छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत सटही सुविधा उपलब्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेलाई अधिकतम पाँच सय अमेरिकी डलर र अन्य मुलुक जानेको हकमा अधिकतम दुई सय अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउन पाउनेछन् । यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम दुई सय अमेरिकी डलरसम्म मात्र सटही सुविधा उपलव्ध गराउनुपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकका अनुसार राहदानी सुविधाबापत सटही माग गर्न आउने निवेदकहरूबाट कन्फम्र्ड हवाई टिकट तथा नाम, ठेगाना र फोटो समेत भएको एवं अग्रीम भिसा आवश्यक पर्ने अवस्थामा भिसा प्राप्त राहदानीको पृष्ठको छविचित्र अनिवार्यरुपमा पेस गर्न लगाउनुपर्नेछ । विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भइआएको आधारमा सटही सुविधा उपलब्ध गराउन पनि सकिनेछ । परिवत्र्य विदेशी मुद्रा उपलब्ध गराउँदा अघिल्लो पटक उपलब्ध गराएको विदेशी मुद्रा बिक्रीको विवरण उपलब्ध नगराउने मनिचेन्जरलाई थप रकम उपलब्ध गराउन नपाइने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया