Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनियमविपरीत काम गर्ने बैंकलाई राष्ट्र बैंकको कारबाही

नियमविपरीत काम गर्ने बैंकलाई राष्ट्र बैंकको कारबाही


काठमाडौं । राष्ट्र बैंकले प्रिमियम दर बढाएर ग्राहकबाट ब्याज असुल गर्ने, कर्जा नोक्सानीबापतको रकम र पुँजी पर्याप्तता अनुपात तोकिएबमोजिम कायम नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेका विकास बैंक र फाइनान्स कम्पनीलाई पनि कारबाही गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नियामकीय व्यवस्था उल्लघंन गरेको भन्दै राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंक, दुई वटा विकास बैंक र एक वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

ग्लोबल आईएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स कारबाहीमा परेका हुन् । राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०७९’को निर्देशनको व्यवस्थाविपरीत प्रिमियम दर बढाएर ग्राहकबाट ब्याज असुल गरेको पाइएपछि ग्लोबल आईएमई बैंकलाई बढाएर असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिएको थियो । तर, बैंकले ग्राहकको खातामा पैसा फिर्ता नगरेको र पुनः निर्देशनविपरीत प्रिमियम दर बढाएको, कर्जा दुरूपयोग भएकोे, व्यवसाय सञ्चालनमा नरहेको, लिलामी प्रक्रियामा रहेको, ‘डेब्ट इक्विटी रेसियो’ नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, निष्क्रिय कर्जाको समेत पुनर्तालिकीकरण/पुनर्संरचना गरी कर्जालाई सक्रिय कर्जामा वर्गीकरण गरेको पाइएकोले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको र बैंक सञ्चालक समितिलाई पनि सचेत गराएको छ ।

एकीकृत निर्देशन २०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीबापत कायम नगरेको पाइएपछि राष्ट्र बैंकले प्रभु बैंकलाई पनि कारबाही गरेको छ । प्रभु बैंकले प्रिमियम दर वृद्धि गरी ब्याज असुलउपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा कर्जाहरूमा क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ को व्यवस्थाविपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । यस्तो कार्यको निगरानी नगरेको भन्दै राष्ट्र बैंकले प्रभु बैंकको सञ्चालक समितिलाई पनि सचेत गराएको छ ।

हिमालयन बैंकले पनि बैंकको पुँजी पर्याप्तता अनुपात गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिमभारित सम्पत्ति न्यून कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविकभन्दा अधिक रिपोर्टिङ गरेपछि कारबाही गरेको छ । केन्द्रीय बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ भने सञ्चालक समितिलाई सचेत गराएको छ ।

विकास बैंकहरूमध्ये अब्बल व्यवसाय गर्दै आएका मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकलाई पनि राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐेन र निर्देशन उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । मुक्तिनाथ विकास बैंकले वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नभएको र अनुगमन गर्नुपर्ने निर्देशन उल्लंघन गरेकाले १० लाख रुपैयाँ नगद जरिबानासहित कारबाही गरेको छ ।

गरिमा विकास बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठ र अन्य व्यक्ति समेतको नाममा सञ्चालनमा रहेको संयुक्त खातामा बीमा कम्पनी खोल्ने उद्देश्यले सर्वसाधारण तथा वित्तीय संस्थाका संस्थापक समेतबाट आवेदन रकम संकलन गर्ने कार्य भएको तथा सो खाताबाट विभिन्न चरणमा खर्च भएको अवस्थामा पनि ती कारोबारहरूको अनुगमन नभएको देखिएको र संस्थाको सुशासन र सञ्चालकको आचरण कार्यान्वयनको अवस्था कमजोर देखिएकाले श्रेष्ठलाई सचेत गराएको छ । उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ ।

रिलायन्स फाइनान्स लिमिटेडका सञ्चालक कुशप्रसाद मल्लीलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । मल्ली र अन्य व्यक्तिको संयुक्त खाता र निजको व्यक्तिगत खातामा व्यावसायिक कारोबारहरू भएको, खाता अध्यावधिक नभएकोले संस्थागत र सञ्चालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएको भन्दै कुशप्रसाद मल्ली र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनामा जारी भएका ऐन र निर्देशनको उल्लंघन गरेका बैंक तथा वित्तीय संस्थाहरू, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया