Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक अर्ब रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा

एक अर्ब रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा


काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक अर्ब रूपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा ल्याएको छ । वैशाख २३ गते आइतबारबाट पाँच वर्ष अवधिको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ बिक्रीमा ल्याएको हो ।

बचतपत्र देशबाहिर रोजगारीमा संलग्न वा देशबाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा खरिद गर्न सक्नेछन् । बचतपत्र वैशाख २३ गतेदेखि जेठ २२ गतेसम्म खरिद गर्न सकिने कार्यालयले जनाएको छ ।

बचतपत्रको निष्काशन २०८१ जेठ २९ गते हुनेछ भने साँवा भुक्तानी २०८६ जेठ २९ गते हुनेछ । बचतपत्रमा वार्षिक नौ प्रतिशत ब्याजदर तोकिएको छ भने ब्याजको भुक्तानी अर्धवार्षिकरूपमा हुनेछ ।

बचतपत्रको खरिद गर्न पाउने सीमा घटीमा १० हजार रूपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने कार्यालयको भनाइ छ । बचतपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेसनल, नबिल बैंक, माछापुच्छ्रे बैक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई लिमिटेड, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, ई–सेवा मनी ट्रान्सफर र नेपाल रेमिट इन्टरनेसनल प्रालि तोकिएका छन् ।

कार्यलयले यही असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रूपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । चालू आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गरेर उक्त परिमाणमा आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरिसकेको जानकारी उक्त कार्यालयले दिएको छ । आन्तरिक ऋण उठाउनको लागि कार्यालयले चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म १५ अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल र १५ अर्ब रूपैयाँबराबरको विकास ऋणपत्र समेत गरी कुल ३० अर्ब रूपैयाँको मौद्रिक उपकरण बिक्री गरिसकेको छ । यसैगरी तेस्रो त्रैमासमा पनि ६० अर्ब रूपैयाँको ट्रेजरी बिल, २५ अर्ब रूपैयाँको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रूपैयाँको नागरिक बचत पत्र पाँचवर्षे समेत गरी कुल ८८ अर्ब रूपैयाँको मौद्रिक उपकरण बिक्री गरिसकेको छ ।

चालू आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा कार्यालयले एक खर्ब ३८ अर्ब रूपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि कार्यालयले ७५ अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रूपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रूपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रूपैयाँबराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने तयारी गरेको छ ।

यस आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्ये एक खर्ब ५० अर्ब रूपैयाँको ट्रेजरी बिल, एक खर्ब रूपैयाँको विकास ऋणपत्र, पाँच अर्ब रूपैयाँको नागरिक बचतपत्र र ५० करोड रूपैयाँको वैदेशिक रोजगार बचतपत्र छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया