Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिन्धु विकास बैंक घोटाला प्रकरण: ‘रकम चलाएको जानकारी अध्यक्ष श्रेष्ठलाई पहिला नै थियो’

सिन्धु विकास बैंक घोटाला प्रकरण: ‘रकम चलाएको जानकारी अध्यक्ष श्रेष्ठलाई पहिला नै थियो’


काठमाडौं । सिन्धु विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलासले २०८० साउन ८ गते फैसला गरी आदेश जारी गरिसकेको छ । न्यायाधीशद्वय किरणकुमार पोखरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले उक्त फैसला गरेको थियो । बैंकका तत्कालीन कम्पनीसचिव तथा प्रवक्ता समेत रहेका रविनकुमार क्षेत्रको जाहेरीले नेपाल सरकार वादी रहेको यो मुद्दामा प्रतिवादीहरू रुक्सा श्रेष्ठ, एलिसा बस्नेत, अप्सना श्रेष्ठ, दिपक श्रेष्ठ, राजप्रकाश श्रेष्ठ, बासु श्रेष्ठ, पदमबहादुर प्रधान, निकिता श्रेष्ठ, विकेश श्रेष्ठ र संगम बस्नेतलाई प्रतिवादी बनाइएको थियो ।

तत्कालीन समयमा झण्डै दुई करोड १९ लाख ३५ हजार आठ सय २१ रूपैयाँ ५० पैसा अपचलन भएको उक्त मुद्दामा उच्च अदालतले रुक्सा श्रेष्ठको हकमा फौजदारी कार्यविधि संहिता २०७४ बमोजिमको कारबाहीअन्तर्गत १४ लाख रूपैयाँ नगद धरौटी वा सोबराबरको जायजेथा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्षको फैसला भएको थियो । यसैगरी एलिसा बस्नेत श्रेष्ठको हकमा पनि फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम नै नौ लाख रूपैयाँ नगद धरौटी वा सोबराबरको जेथा जमानताको आदेश भएको छ ।

यसैगरी अप्सना श्रेष्ठको हकमा पनि मुलुकी फौजदारी कार्यविधि संहित २०७४ बमोजिम नै एक लाख रूपैयाँ नगद धरौटी वा सोबराबरको जेथा बैंक जमानतको आदेश भएको थियो । उच्च अदालत पाटनले अर्का प्रतिवादीहरू दिपक श्रेष्ठ र राजप्रकाश श्रेष्ठको हकमा पनि मुुलुकी फौजदारी कार्यविधिसहित २०७४ अनुसार दुवै प्रतिवादीहरूबाट जनही ५०÷५० हजार रूपैयाँ धरौटी वा सोबराबरको जेथा जमानत वा बैंक ग्यारेन्टीको आदेश भएको थियो । आदेशमा भनिएको छ, ‘सबैको हकमा जमानत दिन नसके कानुनबमोजिम सिधा खान पाउने गरी सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई सम्बन्धित कारागारमा थुनामा राख्न पठाइदिनुहोला ।’

निक्षेपकर्ताहरूको बचत अपचलनसम्बन्धी उक्त मुद्दामा प्रतिवादी रुक्सा श्रेष्ठले भने उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश नरिश्वर भण्डारीको संयुक्त वाणिज्य इजलासमा गरेको बयानमा भने आफूले रकम चलाएको जानकारी पहिला नै उक्त बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई दिएको बताएकी थिइन् । अदालतसमक्ष श्रेष्ठले बयानमा भनेकी थिइन्, ‘उक्त जाहेरी दरखास्तको व्यहोरा पढीवाची सुनाउँदा सुनी पाएँ । सोमा भएको व्यहोरा आंशिक मात्र सत्य हो । मैले ग्राहकले जम्मा गरेको रकममध्येबाट ८०÷८५ लाख रूपैयाँ आफ्नो निजी कार्यको लागि प्रयोग गरेको थिए । तर, विभिन्न मितिमा सोही बैंकमा रहेको निजी खाताबाट मैले लगभग एक करोड रूपैयाँभन्दा बढी रकम बुझाइसकेको छु ।’

‘बैंकले उक्त रकम बुझाउनुभयो भने तपाईँविरुद्ध कुनै मुद्दा दायर गर्नेछैनौँ भनी भनेको हुँदा मैले आफूले चलाएको रकम सबै भुक्तानी गरी सोभन्दा बढी रकम बुझाइसकेकोमा पनि बैंकले मलाई र मेरो परिवारका सदस्यहरूलाई बोलाई अन्य ग्राहकको पैसा पनि प्राप्त गर्न बाँकी छ, अझै पैसा तिर्नुपर्छ भनी करकाप लगाइरहेको अवस्था थियो । सो बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई मैले त्यसरी बैंकका ग्राहकहरूको पैसा चलाइरहेको कुराको जानकारी थियो र निज समय–समयमा बैंकको निरीक्षणको लागि पनि आउने गर्थे । निज राजेन्द्रकुमार श्रेष्ठ प्रतिवादी राजप्रकाश श्रेष्ठ (प्रतिवादी अप्सना श्रेष्ठको श्रीमानको आफ्नै भिनाजु हुन् । म सुत्केरी बिदामा बसेको बेलामा समेत ग्राहकहरूको पैसा हिनामिना भएको भन्ने कुरा मलाई पछि थाहा भयो । एलिसा बस्नेत श्रेष्ठले आफ्नो दाजुको सोही बैंकमा रहेको ‘लोन’ चुक्ता गर्न ग्राहकहरूको पैसा चलाएको र अर्को प्रतिवादी अप्सना श्रेष्ठले समेत त्यसरी रकम हिनामिना गर्दै आइरहेको रहेछ । मैले खालि ‘विथ ड्र स्लिप’मा सहीछाप गरी बैंकमा राखेकोमा सोहीमार्फत मेरो खाताबाट रकम निकाली निज अप्सना श्रेष्ठले आफूले गरेको अपचलनको भुक्तानी गरेको कुरा मैले एलिसा बस्नेत श्रेष्ठ र ग्राहकहरूले भनेपछि थाहा जानकारी पाएको हुँ । प्रतिवादीहरू समेतले बीचबीचमा ग्राहकहरूको पैसा चलाइरहेको हुँदा निजहरूबाट समेत पैसा भराउनुपर्ने हो । मैले सबै रकम तिरिसकेको हुँदा मैले कुनै पनि रकम तिर्नु÷बुझाउनु पर्ने होइन । प्रतिवादी पदमबहादुर प्रधान र तेस्रो पक्षबीचको कारोबारमा म ‘ग्यारेन्टर’को रूपमा रहेको थिएँ । पदमबहादुरले आफ्नो खाताबाट सो तेस्रो पक्षलाई रकम तिर्न नसकेको खण्डमा मैले बैंकको पैसा सो व्यक्तिलाई दिएको हुँ । तसर्थ निजको लागि मैले बैंकबाट चलाएको पैसा म स्वयम्ले तिरिसकेको हुँदा निज पदमबहादुर प्रधानले मलाई रकम तिर्नुपर्ने हो । अन्य प्रतिवादीहरूको यस कसुरमा कुनै संलग्नता छैन । मैले बुझाएको रकमको स्टेटमेन्ट उक्त बैंकबाट झिकाई प्रमाणको रूपमा लगाई पाऊँ’, श्रेष्ठले बयानमा भनेकी थिइन् ।

क्षेत्रीयस्तरको सिन्धु विकास बैंकमा एउटै व्यक्ति लामो समयदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष रहेको, कर्जा प्रवाहमा हालीमुहाली गर्दै अनावश्यक हस्तक्षेप गरेको, बैंकभित्र संस्थागत सुशासनको पक्ष पनि कमजोर रहेकाले ऋण असुलीमा निकै ठूलो समस्या रहेको देखिएको छ । बैंकमा संस्थागत सुशासनको पक्ष कमजोर रहेको घटनाको एउटा उदाहरण झण्डै एक वर्षअघि बैंकको दोलालघाट शाखा प्रमुख सुमन खरेललाई पक्राउ गरेपछि उक्त शाखामा ग्राहकको रकम हिनामिना घटनाले पुष्टि गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x