Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो

बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो

छ महिनामा दुुई खर्ब ९० अर्ब ७८ करोडको मात्र कारोबार


काठमाडौँ ।

बैंकिङ क्षेत्रको आन्तरिक कारोबार अर्थात् बैंकस्तरीय कारोबार रकम गत आर्थिक वर्षको तुुलनामा यो वर्ष घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुले कुुल दुुई खर्ब ९० अर्ब ७८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् ।

उक्त कारोबारमध्ये वाणिज्य बैंकहरुले मात्र एक खर्ब ८९ अर्ब १८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । वाणिज्य बैंकबाहेकका अन्य विकास बैंक र फाइनान्स कम्पनीहरुले भने यस अवधिमा एक खर्ब एक अर्ब ६० करोड रुपैयाँबराबरको यस्तो कारोबार गरेका छन् । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले मात्र गरेको अन्तरबैंक कारोबार रकम नौ खर्ब २६ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुले थप ९१ अर्ब ४२ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । ‘सोही आधारमा उक्त अवधिमा कुुल १० खर्ब १७ अर्ब ९५ करोड अन्तरबैंक कारोबार भएको थियो’, राष्ट्र बैंकले भनेको छ ।

अन्तरबैंक कारोबार घटेकै आधारमा २०७६ पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर तीन दशमलव १७ प्रतिशत रहेकोमा २०७७ पुसमा शून्य दशमलव ७८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ पुसमा एक दशमलव ७६ प्रतिशत रहेकोमा २०७७ पुसमा शून्य दशमलव १४ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ पुसमा शून्य दशमलव १८ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ पुसमा नौ दशमलव ४३ प्रतिशत रहेकोमा २०७७ पुसमा सात दशमलव १८ प्रतिशत कायम भएको छ । २०७७ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर पाँच प्रतिशत र कर्जाको भारित औसत ब्याजदर नौ दशमलव नौ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः छ दशमलव ७९ प्रतिशत र ११ दशमलव ९४ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया