Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकमा बैंक र सिभिल बैंकको एकीकृत कारोबार

हिमालयन बैंकमा बैंक र सिभिल बैंकको एकीकृत कारोबार


काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपछि ‘हिमालयन बैंक लिमिटेड’को नामबाट शुक्रबारबाट एकीकृत कारोबार शुभारम्भ गरेकोे छ । हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले प्राप्ति हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै अगाडि बढ्नका लागि भएको बताए ।

सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको अधिकृत पुँजी २६ अर्ब, चुक्ता तथा जारी पुँजी २१ अर्ब ६५ करोड, कुल पुँजी ३४ अर्ब, कुल सम्पत्ति तीन खर्ब ३४ अर्ब रहने छ भने बैंकको कुल निक्षेप दुई खर्ब ७४ अर्ब र कुल कर्जा दुई खर्ब ५० अर्ब रहनेछ । यसैगरी बैंकले हर्षोल्लासका साथ नेपालभरि रहेका एक सय ८९ शाखाहरू, २० वटा विस्तारित काउन्टर र दुई सय ६३ भन्दा बढी दुवै एटीएमहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ ।

विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देश विकासको आर्थिक अवस्था एवं प्राप्तिपछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए । त्यसैगरी सिभिल बैंक लिमिटेडका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए । समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अब हिमालयन बैंक देशकै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेकोे बताए । उनले आगामी दिनहरूमा बैंक आफ्ना सेयरधनीहरूलाई उच्चतम प्रतिफल दिन र ग्राहकवर्गलाई समय सापेक्ष नवीन प्रविधियुक्त सेवा सुविधा प्रदान गर्नका लागि केन्द्रित हुने बताए ।

कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक उज्वल राजभण्डारीले यस प्राप्ति प्रक्रियामा साथ र सहयोग पु-याउनु हुने सम्पूर्ण संघ–संस्थलाई धन्यवादज्ञापन गरेका थिए । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको सञ्चालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै सञ्चालक समिति रहनेछ भने बैंकको अध्यक्षतामा प्रचण्ड बहादुर श्रेष्ठ नै रहेका छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा रहेका छन् । प्राप्तिपश्चात् बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित हालको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमा नै रहेको छ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १ः०.८०२८ सेयर आदानप्रदान अनुपातमा प्राप्ति गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया