Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरिया, जापान र अमेरिकाबीच सुरक्षा सहयोगमा जोड

कोरिया, जापान र अमेरिकाबीच सुरक्षा सहयोगमा जोड


दक्षिण कोरिया । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोग हुनुपर्नेमा जोड दिएका छन् । क्याम्प डेभिडमा हुने आगामी शिखर वार्ताका सन्दर्भमा दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरियाको आणविक जोखिमलाई सम्बोधन गर्न अमेरिका र जापानसँग गहन सुरक्षा सहयोगको अपरिहार्य भएको बताउँदै अमेरिकी र जापानी नेतासँगको शिखर सम्मेलन त्रिपक्षीय सहयोग प्रवद्र्धनमा नयाँ कोसेढुंगा स्थापित हुने विश्वास व्यक्त गरेका हुन् ।

उत्तर कोरियाको बढ्दो आणविक हतियार परीक्षण र चीनले लागू गरेको आक्रामक विदेश नीतिको सामना गर्न तीनवटै देशले पारस्परिक सम्बन्धलाई सुदृढ बढाउन क्याम्प डेभिडमा त्रिपक्षीय शिखर सम्मेलन गर्न लागेका हुन् ।

बाइडेन प्रशासनका दुई जना वरिष्ठ अधिकारीका अनुसार आगामी शुक्रबार अमेरिकी राष्ट्रपतिको मेरिल्याण्डस्थित विश्रामगृहमा हुने शिखर सम्मेलनमा राष्ट्रपति जो बाइडेन, दक्षिण कोरियाली राष्ट्रपति युन र जापानी प्रधानमन्त्री फुमियो किशिदाले ब्यालिस्टिक मिसाइल प्रतिरक्षा र प्रविधि विकासमा विस्तारित सैन्य सहयोगको योजना घोषणा गर्ने अपेक्षा गरिएको छ ।

‘क्याम्प डेभिडमा तीन दिनपछि हुने गणतन्त्र कोरिया–अमेरिका–जापान शिखर सम्मेलनले कोरियाली प्रायद्वीप र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिमा योगदान पु-याउने त्रिपक्षीय सहयोगमा नयाँ कोसेढुङ्गा कायम हुनेछ’ स्वतन्त्रता दिवसका अवसरमा मंगलबार प्रसारित एक टेलिभिजन कार्यक्रममा राष्ट्रपति युनले भनेका छन् ।

सन् १९४५ मा जापानको ३५ वर्षे औपनिवेशिक शासनबाट मुक्त भएको आफ्नो मुलुकलाई लिएर विगतमा दक्षिण कोरियाका राष्ट्रपतिले जापानको आलोचना गर्ने गरेकामा यसपटक आपसी सहयोग बढाउने विषय उठाएका छन् । उनले जापानलाई आफ्नो औपनिवेशिक गल्तीको लागि माफी माग्न आग्रह गर्नुभएन बरु सोल–वासिङ्टन र टोकियोबीचको सहयोगलाई बढावा दिने र सम्बन्ध सुधारका विषयलाई प्राथमिकता दिए ।

औपनिवेशिक कालमा कोरियाली प्रायद्वीपमा जापानको क्रूर व्यवहार यौन दासत्व र जबरजस्ती श्रमजस्ता ऐतिहासिक मुद्दामा लामो समयदेखि दक्षिण कोरिया र जापानबीच विवाद भए पनि उत्तर कोरियाले सृजना गरेको चुनौतीका कारण दुवै देश आपसी साझेदारी र सहकार्यका निम्ति अग्रसर भएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया