Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगाजामा मानवीय युद्धविरामको आहृवान

गाजामा मानवीय युद्धविरामको आहृवान


संयुक्त राष्ट्र संघ । सयुक्त राष्ट्र संघीय महासभाले शुक्रबार गाजामा ‘मानवीय युद्धविराम’का लागि आह्वान गर्दै इजरायल र गाजाका हमास शासकबीचको शत्रुताको अन्त्यको लागि गैरबाध्यकारी प्रस्तावलाई पारित गरेको छ । यो हमास आक्रमणपछि इजरायल र प्यालेस्टिनी क्षेत्रमा चर्किएको हिंसात्मक गतिविधिका लागि सयुक्त राष्ट्र संघको पहिलो प्रतिक्रिया हो ।

विश्व समुदायको छाता संगठनको रूपमा रहेको एक सय ९३ सदस्यीय यस निकायले अमेरिकाले समर्थन गरेको क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ देशको अनुपस्थितिमा एक सय २० का विरूद्ध १४ मत फरकले प्रस्ताव पारित गरेको छ ।
सयुक्त राष्ट्र संघका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले महासभालाई विभाजित संयुक्त राष्ट्र संघभन्दा अधिक साहासी र सैद्धान्तिक बन्नुपर्नेमा जोड दिए ।

विगत दुई सातामा चार पटक सहमतिका लागि गरिएको प्रयासमध्ये दुई भिटो शक्तिका कारण र अन्य दुई सहमतिको पक्षमा कम्तीमा नौ मत नपुग्दा विफल भएका छन् ।

इजराइलको संयुक्त राष्ट्र संघीय राजदूत गिलाड एर्डनले मतदानपछि भने, ‘हमासको आतङ्ककारी क्षमता नष्ट नभएसम्म र हाम्रा बन्धकहरूलाई फिर्ता नगरेसम्म इजरायलले कारबाही बन्द गर्ने छैन ।’ उनका अनुसार हमासलाई नष्ट गर्ने एउटै मात्र उपाय उनीहरूको सुरुङ र आतङ्कवादी सोचलाई जरैबाट हटाउनु हो ।

संयुक्त राज्य अमेरिकाद्वारा समर्थित क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ सदस्यको अनुपस्थितिसहित एक सय ९३ सदस्यीय वैश्विक निकायले एक सय २० को विरूद्ध १४ मतले प्रस्ताव पारित गरेको थियो । उसले अक्टोबर ७ मा हमासले गरेको आतङ्कवादी हमलाको स्पष्ट निन्दा गर्नुका साथै हमासले कब्जामा लिएका बन्धकहरूलाई तत्काल रिहा गर्न माग गरेको थियो, जसको उल्लेख अरबले तयार पारेको प्रस्तावमा गरिएको छैन ।

संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत लाना नुसिबेह, सुरक्षा परिषद्का अरब प्रतिनिधिले पनि परिणामप्रति खुशी व्यक्त गरेका छन् । ‘यस प्रकारको भूराजनीतिक वातावरणमा एक सय २० मत अन्तर्राष्ट्रिय कानुन, बल प्रयोगको समानुपातिक प्रयोगको समर्थनको उच्च संकेत हो र यो अहिले धरातलमा भइरहेको यथास्थितिलाई अस्वीकार गर्नु हो’, उनले भने ।

प्रस्तावको विपक्षमा मतदान गर्ने १४ मुलुकहरूमा इजरायल र यसको निकटतम सहयोगी संयुक्त राज्य अमेरिका, पाँच प्रशान्त टापु राष्ट्रहरू र चार युरोपेली देशहरू अस्ट्रिया, क्रोएसिया, चेकिया र हंगेरी रहेका छन् । ईयूका आठ सदस्य राष्ट्रले पक्षमा मतदान गरेका थिए ।

संयुक्त राष्ट्र संघका लागि फ्रान्सका राजदूत निकोलस डे रिभिएरेले आफ्नो देशले यो प्रस्तावलाई समर्थन गरेको र ‘कुनै पनि कुराले नागरिकको पीडालाई न्यायोचित ठहराउन नसक्ने’ बताए । मन्सुरले भने, ‘युरोपेली मतले सुरक्षा परिषद्को प्रस्ताव पारित गर्न वा यो युद्ध रोक्न इजरायलमा अधिकतम दबाब सिर्जना गर्न ‘धेरै सहयोगी’ हुन सक्ने संकेत गरेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हमासको आक्रमणबाट करिब एक हजार चार सय इजरायलीको मृत्यु भएको छ भने इजरायलको जवाफी हवाई आक्रमणमा सात हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । गाजामा बढ्दो मृत्यु र विनाशले गाजाका २३ लाख मानिसहरूलाई अति आवश्यक खाद्यान्न, पानी, औषधि र इन्धन उपलब्ध गराउन ‘मानवीय युद्धविराम’ को लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको छ ।

संयुक्त अरब इमिरेट्सका नुसेइबेहले पत्रकारहरूसँग भने, ‘सुरक्षा परिषद्को प्रस्तावजस्तो महासभाका प्रस्तावहरू कानुनी रूपमा बाध्यकारी हुँदैनन् तर तिनीहरूले अविश्वसनीय वजन र नैतिक अधिकार बोकेका हुन्छन् ।’

उनले सुरक्षा परिषद्का १० निर्वाचित सदस्यले महासभाबाट ‘नैतिक अधिकार’ लिने र परिषद्को प्रस्तावमा रहेको अवरोध तोड्ने प्रयास गर्ने बताए । प्यालेस्टाइनको कब्जामा रहेका क्षेत्रमा इजरायली गतिविधिबारे महासभाको आपतकालीन विशेष अधिवेशनमा एक सय १३ वक्ताको सूचीमार्फत मतदान भएको हो ।

जोर्डनका संयुक्त राष्ट्र संघका राजदूत महमुद हमुदले संयुक्त राष्ट्र संघको २२ राष्ट्रको अरब समूहको तर्फबाट बोल्दै प्यालेस्टिनी जमीनमा बढ्दो आक्रामक स्थितिको तात्कालिकतालाई ध्यानमा राख्दै यस प्रस्तावमा कदम चाल्न आह्वान गरेका थिए ।

मतदानअघि हमुदले क्यानडाको संशोधनलाई परास्त गर्न आग्रह गर्दै भने, ‘अहिले भइरहेको ज्यादतीका लागि इजरायल जिम्मेवार छ र त्यो गाजाको जमीनी आक्रमणमा पनि देखिनेछ ।’

संयुक्त राष्ट्र संघका लागि क्यानडाका राजदूत रोबर्ट रायले प्रस्तावले अक्टोबर ७ को घटनालाई बिर्सेको जस्तो देखिएको बताए । उनले भने, ‘यो संशोधनले इतिहासकै सबैभन्दा खराबमध्ये एक आतङ्कवादी हमलाका लागि जिम्मेवार हमासको निन्दा गरेको छ ।

संयुक्त राष्ट्र संघका लागि पाकिस्तानका राजदूत मुनीर अक्रमले अरबले तयार पारेको प्रस्तावमा जानाजानी इजरायलको निन्दा वा उल्लेख नगरिएको र अन्य कुनै पक्षको नाम उल्लेख नगरिएको बताएपछि आफूले प्रस्तावको पक्षमा समर्थन गरेको बताए ।

क्यानडाको संशोधनमा २३ वटा असहमतिसहित ८८का विरूद्ध ५५ मत खसेको थियो, तर यसले पक्ष वा विपक्षमा मतदान गर्नेहरूको दुई तिहाइ बहुमत प्राप्त गर्न असफल भएको थियो । त्यसपछिको सम्पूर्ण प्रस्तावको मतदानमा क्यानाडा अनुपस्थित थियो ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले इजरायलका एर्डनले हमासको नाम उल्लेख नगरेको र यो दुई राष्ट्र समाधानको दृष्टिकोणका लागि ‘हानिकारक’ भएको भन्दै प्रस्तावलाई ‘अपमानजनक’ भनेका थिए । रासस/एपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया