Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट

जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट


बर्लिन, जेठ २७
जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलव ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्यांकमा उल्लेख छ । गत मार्चमा पनि जर्मनीको औद्योगिक उत्पादनमा ८.९ प्रतिशतले ह्रास आएको थियो । सन् १९९१ जनवरीपछि यति ठूलो परिमाणमा औद्योगिक उत्पादनमा पहिलोपटक ह्रास आएको जर्मनीको सरकारी तथ्यांक विभाग डेस्टाटिसले जनाएको छ ।

सन् २०१९ को अप्रिलको तुलनामा भने औद्योगिक उत्पादनमा २५.३ प्रतिशतले कमी आएको छ । विश्लेषकहरुले पूर्वानुमान गरेभन्दा अप्रिल महिनामा औसतमा १६ प्रतिशतले औद्योगिक उत्पादनमा ह्रास आएको हो । सवारीसाधनको उत्पादनमा ७४.६ प्रतिशत घटेको भए पनि निर्माण क्षेत्रमा भने निकै सुधार भएको छ । यस क्षेत्रमा केवल ४.१ प्रतिशतले ह्रास आएको छ । विश्वभर कोरोनाभाइरसको महामारीका कारण ठूलो आर्थिक क्षति पुगेको छ तर जर्मनीले आफ्ना समकक्षी मुलुकको तुलनामा निकै प्रगति गरेको छ । यस वर्षको पहिला तीन महिनामा कूल आर्थिक उत्पादनमा २.२ प्रतिशतले मात्र ह्रास आएको अधिकारीहरुले बताएका छन् । (रासस–एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x