Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअश्वेत महिलालाई सहयोग गर्न १० वर्षमा १० अर्ब लगानी गर्दै गोल्डम्यान स्याक

अश्वेत महिलालाई सहयोग गर्न १० वर्षमा १० अर्ब लगानी गर्दै गोल्डम्यान स्याक


अमेरिका ।
गोल्डम्यान स्याक ग्रुपले अश्वेत महिलालाई सहयोग गर्ने हेतुले आगामी १० वर्षमा १० अर्ब अमेरिकी डलर खर्च गर्ने भएको छ । अश्वेत महिलाको स्वास्थ्यसेवा, रोजगारी सिर्जना र शिक्षाजस्ता क्षेत्रमा उक्त रकम खर्च गरिनेछ । बैंकको ‘१० लाख अश्वेत महिला’ इनिसिएटिभअन्तर्गत सन् २०३० सम्म १० लाख महिलाको जीवनमा प्रभाव देखिने गरी उक्त सहयोग खर्च गर्नलागिएको कम्पनीले जनाएको छ ।

गत वर्ष अमेरिकामा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोएडको प्रहरी दमनका क्रममा मृत्यु भएपछि ठूलै विरोध भएको थियो । उक्त घटनापछि ठूला कम्पनीहरुले नीतिगत परिवर्तन गर्दै नश्लीय वैविध्यको प्रवर्द्धन गर्दै नागरिक अधिकार समूहहरुलाई रकम दान गर्ने प्रतिबद्धता जनाएका थिए ।

गोल्डम्यान स्याकले यसका अतिरिक्त १० करोड अमेरिकी डलर अफ्रिकी अमेरिकी महिलाले सञ्चालन गरेका व्यावसायिक उपक्रममा दान गर्ने समेत जनाएको छ । अश्वेत महिलाका लागि आम्दानीको खाडल पुर्न गरिनलागेको यस्तो सहयोगले १२ देखि १७ लाख रोजगारी अमेरिकामा सिर्जना हुने कम्पनीले एक अनुसन्धानलाई देखाउँदै जनाएको छ ।

गोल्डम्यानले गत वर्ष जातीय समानतालाई प्रवर्द्धन गर्न एक करोड डलरको कोष खडा गरेको थियो । त्यस्तै उसले २० करोड डलर हाराहारीमा बितेको दशकमा विभिन्न संगठनहरुलाई सहयोग गरेको जनाएको छ । नयाँ परियोजनाको एडभाइजरी काउन्सिलमा वालग्रिन बुट्सका प्रमुख कार्यकारी रोसालिन्ड ब्रुअर, एप्पल इन्कका वातावरण, नीति र सामाजिक इनिसिएटिभकी उपप्रमुख लिसा ज्याक्सनसमेत रहने बताइएको छ । काउन्सिलमा सिभिल राइट्स ग्रुपका सीईओ मार्क मोरियल, न्यु अर्लियान्सका मेयर पनि रहने बतााइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया